बलेवा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पालिका अधिवेशनअन्तर्गत बागलुङका सात वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबारदेखि सुरु भएको पालिका अधिवेशनबाट जिल्लाका सात वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
बागलुङ नगरपालिकामा इन्द्र केसी (पारस) को अध्यक्षतामा नगरकमिटी गठन भएको हो । कमिटीको सचिवमा राजु खड्का चयन भएका छन् । जैमिनी नगरकमिटीको अध्यक्षमा झमन पाण्डे र सचिवमा शोभाप्रसाद शर्मा, ढोरपाटन नगरकमिटीको अध्यक्षमा भीम गौतम र सचिवमा वीरबहादुर घर्ती चयन भएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरेले बताए ।
निसीखोला गाउँकमिटीको अध्यक्षमा कुवीर विक र सचिवमा कुशल बुढा, ताराखोला गाउँकमिटीको अध्यक्षमा दिवस खत्री र सचिवमा फूलमायाँ पुन, काठेखोला गाउँकमिटीको अध्यक्षमा कृष्ण थापा र बडीगाड गाउँकमिटीको अध्यक्षमा मिलन रेश्मी र सचिवमा वीरेन्द्र बुढा चयन भएका छन् ।
शनिबार नै अधिवेशन उद्घाटन भएको गलकोट र तमाखोलामा आज मात्रै बन्दसत्र सुरु हुनेछ । बरेङ गाउँकमिटीले भने मङ्सिर १८ गतेका लागि भेला बोलाएको छ । ‘पार्टीको विधानअनुसार समावेशी कमिटी बनेका छन्’, गैरेले भने, ‘दलित, जनजाति, महिला र युवाको उत्साहजनक सहभागिता रहेको छ ।’ यो पटक माओवादीले दलित १५ प्रतिशत, महिला ३५ प्रतिशत र युवासमेत अनिवार्य सहभागी रहनेगरी कार्यसमितिको कोटा तोकेको जिल्ला इञ्चार्ज बलावती शर्माले जानकारी दिइन् ।