काठमाडौं–नेकपा एमाले अध्यक्ष केपी ओली चितवनको नारायणी नदी किनारमा सुरु भएको पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा आफू सरकारमा भएका बेला अप्ठेरो पार्नेहरूले प्रधानमन्त्रीलाई पनि अवरोध सिर्जना गरिरहेको दाबी गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई पनि काम गर्न अप्ठेरो भइरहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीजी सायद काम गर्न चाहनुहुन्थ्यो कि ? प्रधानमन्त्रीलाई काम गर्न गाह्रो छ । मलाई अप्ठेरो पार्ने, मेरो खुट्टा तान्नेहरू आज उहाँ (प्रधानमन्त्री) को खुट्टा समातिरहेका छन् ।’
अध्यक्ष ओलीले एमाले अब चुनावको तयारीमा जुट्ने बताए । ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौँ । आउँदो चुनावमा एकल बहुमत ल्याउनेछौँ । पार्टीका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी छ ।’
अध्यक्ष ओलीले आफ्नो कार्यकालमा मुलुकले पूर्वाधारमा फड्को मारेको दाबी गरे । आफ्नै पार्टीभित्र काम गर्न नदिइए सरकारले हुलाकी राजमार्गदेखि सुरुङमार्गसमेत निर्माण सुरु गरेको बताए । बहुमतको सरकारलाई काम गर्न नदिएर बाधा–व्यवधान र अड्चन थापिएको उनको दाबी छ ।