बागलुङ– स्थानीय सरकार गठनको पाँच वर्ष पूरा हुनै लागेको छ । नेपालको संविधानले तीन तहका सरकारको परिकल्पना गरेपछि गठन भएको स्थानीय सरकारमा जनप्रतिनिधि निर्वाचित भएर आएको पनि साढे चार वर्ष पुग्यो । निर्वाचनका समयमा गरेका प्रतिबद्धता, दलका घोषणापत्र र जनचाहनाअनुसार काम भए वा भएनन् भनेर समीक्षा गर्ने बेला आएको छ ।
भवितव्य नभए आउँदो वैशाखभित्रै स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने वैधानिक व्यवस्था छ । नयाँ नेतृत्व आउँदा सत्ता हस्तान्तरण पूर्वजनप्रतिनिधि र उनीहरुका दलले कामको समीक्षा गर्ने नै छन् । आम जनसमुदायले गर्ने समीक्षा र आन्तरिकरुपमा गरिने समीक्षा फरकफरक हुन् । सबै जनप्रतिनिधि कुनै न कुनै दलको टिकट लिएर निर्वाचनमा होमिएका उम्मेदवार हुन र जितेपछि साझा भए । उनीहरु आफ्नो दल, कार्यकर्ता र आम जनताप्रति कति उत्तरदायी थिए भन्ने कुरा समीक्षा र मूल्याङ्कन भएपछि मात्रै जानकारी हुने कुरा हो ।
अहिले दलका अधिवेशन चलिरहेका छन् । आन्तरिक प्रतिस्पर्धा र नेतृत्व चयनको महामेला चलिरहेका बेला राजनीतिक दल र दलकोतर्फबाट उम्मेदवार भएर जनप्रतिनिधि भएकाको पनि कार्यकर्ताले समीक्षा गर्नुपर्दछ । लोकतन्त्रको सुन्दर पक्ष राजनीतिक दलको अधिवेशन र त्यसभित्र हुने प्रतिस्पर्धा हो । अहिले चलिरहेको अधिवेशनको महामेलामा जनमानसमा असन्तुष्टि हुँदाहुँदै बागलुङका सबै नगरपालिकाका प्रमुख पार्टीभित्र अनुमोदित भए । उनीहरुले पार्टीको निर्वाचन जितेका छन् । यसको अर्थ विपक्षीलाई चिढ्याएरै भए पनि आम सर्वसाधारणको चित्त दुखेका भए पनि दलभित्र उनीहरु बफादार छन् ।
कात्तिक २७ गते भएको नेकपा (एमाले) बागलुङको महाधिवेशन छनोट प्रक्रियामा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिए । अध्यक्ष मण्डलको सहायतमा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले उनको उम्मेदवारीमा कसरत गर्न परेन । दलित कोटामा उम्मेदवारी दिएका नेपाली सर्वसम्मत चयन भए । अरु कसैको उम्मेदवारी नै नपरेकाले उनी दलभित्र अनुमोदित हुनुभयो भन्न सकिन्छ ।
सोही मितिमा खुला महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल पनि अरु उम्मेदवारलाई अध्यक्ष मण्डलले फिर्ता गरेपछि सर्वसम्मत भए । नगरका कामका विषयमा चित्त नबुझेको भन्दै तीन वर्षअघि नगरकार्यपालिकाको कार्यालयमै ताला लगाएकालेसमेत उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि हुँदा आफू पछि हटे । दलप्रति र कार्यकर्ता प्रतिको बफादारिता उनमा देखियो ।
मङ्सिर ३ गते भएको नेपाली कांग्रेस प्रदेश महाधिवेशनको निर्वाचनमा जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल प्रदेश महाधिवेशन प्रतिनिधिका उम्मेदवार भए । यही मङ्सिर ४ गते भएको मतदानमा सबैभन्दा धेरै मत ल्याउने उनी नै हुनुभयो र चुनाव जिते । चार वर्षअघि नगरका कामका विषयलाई लिएर कांग्रेसकै नगर सभापतिले ज्ञापनपत्र बुझाएका थिए । छोटो समयमा उनले कामको प्रकृति फेर्नुभयो, सुधार गर्नुभयो वा उस्तै छ । त्यो त समीक्षाको विषय भयो तर दलभित्र उनी बफादर भए र चुनाव जिते ।
मङ्सिर ६ देखि सुरु भएको कांग्रेसको क्षेत्रीय महाधिवेशनमा क्षेत्र नं २ बागलुङबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार बने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे । उनले पनि चुनाव जिते । विपक्षी दललाई बेवास्ता गर्ने गरेको आरोपसहितको ज्ञापनपत्र एक वर्षअघि बुझ्नुभएका गैरेलाई पनि पार्टीले अनुमोदन गरेको छ । उनले पनि अरु नगरप्रमुखले जस्तै पार्टीभित्र सबैको मन जित्नुभएको छ तर नगरभित्रका कामका विषयमा भने न पार्टीले समीक्षा गरेका छन् न उनी आफैँले ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा कांग्रेस क्षेत्र नं २ को सभापति बने । मतदानमार्फत नै उनी सभापति बन्दा अपेक्षा गरेभन्दा बढी मत उनले पाए । गाउँपालिकाका गतिविधिका विषयमा दुई वर्षअघि गाउँसभा नै अवरोध हुनेगरी एमालेसँग चिढिनुभएका बुढाले पार्टीमा भने बफादार रहेको प्रमाणित गरे ।
दलभित्र समीक्षा भयो भएन त्यो खोजीको विषय हो । तर जनप्रतिनिधि भइसकेका नेताले दलभित्र पाएको मतले उनीहरु दलप्रति बफादार छन् भन्ने बुझिन्छ । आम सर्वसाधारणको हितमा काम गरे गरेनन् भन्ने विषयमा समीक्षा भने आउँदो स्थानीय तहको निर्वाचनमा उनीहरु र उनीहरु सहभागी दललाई जनताले गर्ने विश्वासका आधारमा मात्रै भन्न सकिन्छ ।