दाङ– नेपाली कांग्रेसको १४औँ अधिवेशनअन्तर्गत दाङमा संस्थापन इतर पक्ष बलियो देखिएको छ । शनिबार भएको निर्वाचन परिणामअनुसार केन्द्रीय सदस्य दीपक गिरीको प्यानल विजयी भएको छ ।
६ प्रदेश निर्वाचन क्षेत्रमध्ये ५ वटामा संस्थापन इतर पक्षधर अर्थात् गिरी प्यानलका उम्मेदवार सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचन परिणामअनुसार दाङको निर्वाचन क्षेत्र १ ‘क’ मा श्रीपद चौधरी र १ ‘ख’ मा निर्वाचित दिनेश गिरी दुवै संस्थापन इतर पक्षधर हुन् । यी दुवै स्थानमा उनीहरूको प्यानलै विजयी भएको छ् ।
त्यस्तै, दाङ निर्वाचन क्षेत्र २ ‘क’ को सभापतिमा निर्वाचित प्रकाश श्रेष्ठ मात्रै संस्थापन पक्षधर रहेको कांग्रेस दाङका एक पदाधिकारीले बताए । यहाँ उनको प्यानलै निर्वाचित भएको छ ।
संस्थापन पक्षबाट प्रदेश सभापतिमा जित्ने श्रेष्ठ जिल्लाका एक्ला सभापति हुन् । निर्वाचन क्षेत्र २ ‘ख’ को सभापतिमा निर्वाचित अभियान बस्नेत पनि संस्थापन इतर पक्षधर हुन् । यहाँ बस्नेतको टिमले अधिकांश पदमा जिते पनि केहीमा संस्थापन पक्षधर पनि निर्वाचित भएका छन् ।
त्यस्तै, निर्वाचन क्षेत्र ३ ‘क’ मा देवेन्द्र रिजाल र क्षेत्र ३ ‘ख’ मा खिमबहादुर वली प्रदेश सभापतिमा निर्वाचित भएका छन् । उनीहरू दुवै जना संस्थापन इतर पक्षधर हुन् । रिजालको प्यानलबाट एक जना सचिवबाहेक अन्य सबै पदाधिकारीले जितेका छन् भने वलीको सम्पूर्ण प्यानल निर्वाचित भएको छ ।