भक्तपुर– पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी बुधबारदेखि चारवटै पालिकामा सुरु भएको बन्द सत्रले साँझ ६ बजेसम्म कुनै पनि पालिकामा नयाँ नेतृत्व चयन गर्न सकेको छैन ।
चारवटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेता महेश बस्नेत, सोम मिश्र, जिल्ला अध्यक्ष देउजा, नेता वासुदेव थापा, मदनसुन्दर श्रेष्ठलगायत लागिपरेका छन् । एमालेको नयाँ विधानअनुसार नगर कमिटी ७५ सदस्यीय हुनेछ । त्यसमा पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव चयन हुनेछन् । सोमा ३३ प्रतिशत महिला अनिवार्य रहनुपर्ने र पदाधिकारीमा एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।