बागलुङ– नेकपा एमालेको दसौँ केन्द्रीय महाधिवेशनका लागि शनिबार धेरैजसो वडामा अधिवेशन सम्पन्न भएका छन् । केही वडामा भने तयारी पूरा नभएकाले रोकिएका छन् । बागलुङ नगरपालिका वडा नम्बर ३ को अधिवेशन उद्घाटन गर्दै केन्द्रीय सदस्य मनकुमारी केसीले पार्टी बलियो बनाउन प्रतिबद्ध कार्यकर्ता चाहिने बताइन् ।
कार्यक्रममा नगर प्रमुख जनकराज पौडेलले युवालाई सक्रिय बनाएर अगाडि बढ्दा निर्वाचन र पार्टी संगठनमा सफल भइने दाबी गरे । अधिवेशनले कमल खड्काको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन भएको छ । उपाध्यक्षमा लक्ष्मण शर्मा, सचिव डोलेन्द्र केसी, उपसचिवमा रुपेश शर्मा र दुर्गाकुमारी शर्मा चयन भएका छन् ।
बागलुङ नगरपालिका वडा नम्बर १ मा सूर्य लामिछानेको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । उपाध्यक्षमा मनोज बोहरा, सचिवमा नवराज गौतम तथा उपसचिवमा धना बोहरा र मुकुन्द शर्मा निर्विरोध चयन भएका छन् ।
बागलुङ नगरपालिका वडा नम्बर २ मा तोयानाथ गौतमको अध्यक्षतामा नयाँ कमिटी चयन भएको छ । उपाध्यक्षमा बुद्धिमाया थापा, सचिवमा तेजबहादुर थापा तथा उपसचिवमा अञ्जन शर्मा र विष्णु विक रहेका छन् । वडा नम्बर ४ मा धेरै आकांक्षी भएकाले अध्यक्ष मण्डललाई जिम्मा दिइएको बताइएको छ । उक्त अधिवेशनमा अध्यक्ष इन्द्रलाल सापकोटालगायतले उम्मेदवारी दिएका दिएका छन् ।
वडा नम्बर ५ मा गोविन्द सापकोटाको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । वडा नम्बर ६ र ७ मा पनि राती अबेरसम्म टुंगो नलागेको बताइएको छ । वडा नम्बर ८ मा सुरेश मल्ल, वडा वडा नम्बर १० मा विजय थापा, अध्यक्ष चयन भएका छन् । वडा नम्बर ११ मा अधिवेशन सुरु भएको छैन । वडा नम्बर १२ मा ज्ञानेन्द्र ढकाल अध्यक्ष चयन भए ।
वडा नम्बर १३ मा आकांक्षी धेरै भएकाले टुंगो लागेको छैन । वडा नम्बर १४ मा महेन्द्र शर्मा निर्विरोध अध्यक्षमा चयन भएका छन् । शनिबार अधिवेशन भएकामध्ये अधिकांशमा निर्विरोध पार्टी कमिटी चयन हुने पार्टी अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । पार्टीको तयारी कम भएको र अतिथि लैजान नसकेको भन्दै ताराखोला, बरेङ, निसीखोला र तमानखोलाका वडामा भने शनिबार कार्यक्रम सुरु मात्रै भएका छन् ।
ती पालिकामा १० कात्तिकभित्र अधिवेशन गरिसक्ने तयारी बनेको सापकोटाले जानकारी दिए । जिल्लाको जैमिनी नगरपालिकामा सुरु भएको एमालेको पहिलो वडा अधिवेशनले केही वडामा मात्रै सर्वसम्मत नेतृत्व टुंगो लगाएको छ । १० वटा वडा रहेको नगरमा ६ वटा वडामा नेतृत्व टुंगो लागेको हो ।
जैमिनी वडा नम्बर १ कुश्मीशेरा वडा कमिटीको अध्यक्षमा चन्द्रबहादुर थापा चयन भएका छन् । जैमिनी वडा नम्बर २ मा नामदेव चापागाईं, वडा नम्बर ३ मा मोहन छन्त्यालको नेतृत्वमा कमिटी गठन भएको छ । वडा नम्बर ५ बिनामारेमा कृष्णबहादुर हमाल, वडा नम्बर ७ जैदीमा हिरामणि चालिसे र वडा नम्बर ८ छिस्तीमा कुलबहादुर पुनको अध्यक्षतामा एमाले वडा कमिटी गठन भएको गण्डकी प्रदेश कमिटी सदस्य लीला रानाले बताए ।
बाँकी वडामा शनिवार उद्घाटन भएको अधिवेशन जारी रहेकाले सर्वसम्मत नेतृत्व चयन हुने उनले जानकारी दिए । यस्तै, काठेखोला गाउँपालिकाका ६ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । दुई वडामा अधिवेशन सुरु भए पनि नेतृत्व चयन हुन समय लागेको हो । काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीमा डम्मरसिंह घर्ती अध्यक्ष भए । वडा नम्बर ७ रेशमा भूमिराज शर्मा गौतम र वडा नम्बर ६ बिहुँमा थानेश्वर कँडेल नेतृत्वमा सर्वसम्मत कमिटी गठन भएको छ ।
वडा नम्बर ४ मा सुरेश घर्ती नेतृत्वमा वडा कमिटी गठन भएको काठेखोला गाउँ कमिटी अध्यक्ष डिलबहादुर कार्कीले बताए । वडा नम्बर ३ धम्जामा खिम छन्त्याल र वडा नम्बर १ पालामा भीमबहादुर खड्का नेतृत्वमा सर्वसम्मत कमिटी गठन भएको छ । जैमिनी र काठेखोलामा अधिकांश पुरानै अनुहार देखिएका छन् ।
बडिगाड गाउँपालिका वडा नम्बर १ मा रिमबहादुर भुजेल, वडा नम्बर २ मा खगिश्वर अर्याल, वडा नम्बर ३ मा गोपीराम काउचा र वडा नम्बर ४ मा अनराम छन्त्याल अध्यक्ष चयन भएका छन् । वडा नम्बर ५ मा धु्रव घिमिरे, वडा नम्बर ६ मा फौजबहादुर केसी, वडा नम्बर ७ मा गंगाबहादुर गुरुङ, वडा नम्बर ८ मा भीमबहादुर बलाल, वडा नम्बर ९ मा पानबहादुर केसी र वडा नम्बर १० मा गुञ्जमान बुढा अध्यक्षमा चयन भएका छन् ।
त्यस्तै, ढोरपाटन नगरपालिका वडा नम्बर १ मा सुरज विक, वडा नम्बर २ मा फारम कुँवर, वडा नम्बर ३ मा लीला छन्त्याल र वडा नम्बर ४ मा उमेश सिर्पाली अध्यक्ष चयन भएका छन् । वडा नम्बर ५ मा शिवराज कँडेल, वडा नम्बर ६ मा ज्ञानिन विक र वडा नम्बर ७ मा अमर बुढामगर अध्यक्ष चयन भएका छन् । हालसम्म वडा नम्बर ८ र ९ मा कमिटी चयन भएको छैन ।