कैलाली– प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सन आफू एक्लैले भनेर नहुने भन्दै यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएका छन् । पत्रकारहरुहरुले अर्ली इलेक्सनको सम्भावनाबारे सोधेको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केही नेताहरुले पहिले बैशाखमा संघको निर्वाचन गरेर मंसिरमा स्थानीय तह र प्रदेशको निर्वाचन गराउनुपर्ने मत राख्दै आएका छन् । कांग्रेसका कतिपय नेताहरुले १४ औं महाधिवेशन सम्पन्न गरेलगत्तै ताजा जनादेशका लागि बैशाखमा संघको निर्वाचन गर्नुपर्ने आवाज उठाउने गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि केही दिन अगाडि अर्ली इलेक्सनको कुरा गरेका थिए । अर्ली इलेक्सनको बहस चले पनि बैशाख अघि स्थानीय तहको चुनाव गर्नैपर्ने संवैधानिक बाध्यता छ ।
सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्र अवलोकन गर्न आएका प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएलगत्तै राहत प्याकेज घोषणा गर्ने बताए । प्रधानमन्त्री देउवाले एमसीसी नेपालको कानुनभन्दा माथि नभएको भन्दै यो संसदबाट पारित हुने बताए ।
कांग्रेसको १४ औं महाधिवेशन सर्छ कि तोकिएकै मितिमा हुन्छ भनेर सोधिएको प्रश्नमा देउवाले पार्टीको निर्वाचन कमिटीले जे निर्णय गर्छ, त्यही हुने बताए ।