close

कांग्रेस पालिका अधिवेशन : पाल्पामा एक पालिकामा महिला नेतृत्व 

कांग्रेस पालिका अधिवेशन : पाल्पामा एक पालिकामा महिला नेतृत्व 

Trulli
ADVERTISEMENT

पाल्पा– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पाल्पामा एक पालिकामा महिला नेतृत्व आएसँगै पार्टीभित्र र बाहिर निकै चर्चा चलेको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको सभापतिमा विष्णुकुमारी आचार्य निर्वाचित भएसँगै महिलामा उत्साह थपिएको छ ।

 

पाल्पाको १० पालिकामध्ये ९ पालिकामा निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व आएको छ । ९ पालिकामध्ये ८ पालिकाको सभापतिमा पुरुष निर्वाचित छन् । यही असोज ९ गते भएको पालिका अधिवेशनले सर्वसम्मतरूपमा आचार्यले सभापतिको नेतृत्व गर्ने अवसर पाएकी छिन् । सभापतिमा पुरुष उम्मेदवार पनि आकाङ्क्षी नभएका भने होइनन् तर यहाँका नेतृत्व पङ्क्तिले यस पटक महिलालाई सम्मान गर्दै गाउँपालिकामा सभापतिको जिम्मेवारी सुम्पेका छन् । 

 

परिवारको साथ सहयोग र पार्टीका नेता कार्यकर्ताको सहमतिमा पाएको जिम्मेवारीलाई पूरा गर्ने उनको अठोट छ । उनी भन्छिन्, ‘महिलालाई पार्टीमा चलायमान बनाउने र भोलिका दिनमा वडा तहदेखि माथिल्लो निकायसम्म नेतृत्व गर्नसक्ने गरी महिलालाई सशक्त बनाउनेछु, गाउँगाउँका महिलाको समस्यालाई बुझेर पार्टीमार्फत उनीहरूका हक अधिकारका निम्ति सदैव लड्नेछु ।’

 

यसअघि पूर्वखोला गाउँपालिका–३ को कार्यवाहक सभापति भएर काम गर्नुभएकी उनी हाल ट्रेड युनियन कांग्रेस पूर्वखोलाको उपसभापति हुन् ।

 

पाल्पामा ८१ वडामा एक महिला सभापति

 

पाल्पाको ८१ वडामध्ये एक वडामा मात्र सभापति पदमा महिला नेतृत्वले स्थान पाएको छ । बगनासकाली गाउँपालिका–२ मा गत भदौ २१ गते भएको वडा अधिवेशनमा सीताकुमारी गहिरेले वडा सभापतिमा नेतृत्व हात पार्न सफल भएकी हुन् । 

 

निर्वाचन प्रक्रियामार्फत गहिरेले प्रतिस्पर्धी राजेन्द्र रानालाई पराजित गरी विजयी भएकी हुन् । यस वडामा १५१ क्रियाशील सदस्यमध्ये ८१ मत खसेकामा निर्वाचित गहिरेले ४० मत र प्रतिस्पर्धी रानाले ३९ मत पाउनुभयो । दुई मत बदर भएको थियो ।

 

पार्टी नेतृत्वमा वडा तहदेखि केन्द्र तहसम्म नै महिलालाई स्थान दिन हिच्किचाउने प्रवृत्ति छ । राज्यले तोकेको आरक्षण कोटाबाहेक अन्य कोटामा सक्षम र सबल भए पनि महिलालाई नेतृत्व तहमा भरसक स्थान दिइँदैन । 

 

यस्तो अवस्थामा पाल्पामा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा एक पालिका र एक वडामा भए पनि दुई महिलाले नेतृत्व गर्ने अवसर पाएपछि महिला जागरुकता बढेको छ । 

 

रामपुर नगरपालिकामा नेत्रप्रसाद भट्टराई, रिब्दीकोट गाउँपालिकामा रामचन्द्र पाण्डेय, बगनासकालीमा थानेश्वर तिमिल्सेना, निस्दीमा पूर्णबहादुर खाँण, पूर्वखोलामा विष्णुकुमारी आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दीपक थापा, तिनाउँमा प्रेम पाण्डे र रैनादेवी छहरा गाउँपालिकामा विष्णु पोखरेल सभापति पदमा चुनिएका छन् । 

 

रामपुर नगरपालिका र रिब्दीकोट गाउँपालिकामा मतदान प्रक्रिया र अन्य पालिकामा भने सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको हो । जिल्ला सदरमुकामको तानसेन नगरपालिकामा भने उद्घाटन सत्रमात्र सम्पन्न गरेर बन्द सत्र सुरु नहुँदै नगर अधिवेशन स्थगित गरिएको छ । 

 

तानसेन नगरपालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन हुन नसक्दा अधिवेशन अनिश्चित बनेको हो । दुई जना आकाङ्क्षीले आफ्नो दाबी नछाड्ने भएपछि सर्वसम्मतिमा उम्मेदवारको खोजी गरिन लागेको बुझिएको छ ।