काठमाडौं– सरकारले २० प्रतिशत मात्रै पुर्याएर दल विभाजन गर्ने अध्यादेश ल्याएपछि चोइटिएका नेकपा एमाले र जनता समाजवादी पार्टीका असन्तुष्टलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय मंगलबार सकिँदै छ ।
गत ९ भदौमा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी विभक्त भएर बनेको लोकतान्त्रिक समाजवादीलाई नयाँ दलको मान्यता दिएसँगै जनप्रतिनिधिलाई दल रोज्न मंगलबारसम्मको समयसीमा तोकिएको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेशको नतिजा करिब–करिब आइसके पनि स्थानीय तहका जनप्रतिनिधिमध्ये नयाँ दल रोज्ने संख्या आउन भने केही समय लाग्ने देखिएको छ । ७ सय ५३ स्थानीय तहका सबै जनप्रतिनिधिको संख्या धेरै भएकाले केही समय लाग्ने भएको हो ।
निर्वाचन आयोगका सह–प्रवक्ता कोमल धमलाले अन्तिम तथ्यांक आउन एक साता लाग्न सक्ने बताए । ‘दल रोज्न दिएको समय मंगलबार सकिँदै छ,’ उनले भने, ‘आज बेलुकाको समय सकिएपछि जिल्ला निर्वाचन कार्यालयले तथ्याङ्क हामीलाई पठाउने हो । सबै जिल्लाको तथ्यांक आइपुग्न एक साता लाग्छ ।’
पार्टी विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीको नेतृत्व माधव नेपालले गरेका छन् भने लोकतान्त्रिक समाजवादीको नेतृत्व महन्थ ठाकुरले गरेका छन् ।
दल रोज्ने अन्तिम दिन मंगलबार पनि जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्ने क्रम जारी छ । कति जनप्रतिनिधि आफूहरूतिर आए भन्ने भन्ने कुराको यकिन भइनसकेको नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद विरोध खतिवडाले जानकारी दिए ।
निर्वाचन कार्यलयले तथ्यांक नदिएसम्म ठ्याक्कै भन्न नसकिने उनले बताए । ‘स्थानीय तहका कति जनप्रनिधिले दल रोजिसक्नुभयो भन्ने तथ्यांक आइसकेको छैन,’ उनले भने, ‘निर्वाचन आयोगले साता दिन भनेको छ । तर, अनुमानअनुसार हामीले सोचेभन्दा धेरै जनप्रतिनिधि एमाले छाडेर हामीतिर आउनुभएको छ ।’