जुम्ला– पटक–पटक तिथिमिति सर्दै आएको सत्तारुढ नेपाली कांग्रेसको हाल नेपालभरका स्थानीय तहमा नेतृत्व छनोटका लागि चुनाव भइरहेको छ । कांग्रेसको आगामी १४औँ महाधिवेशनमा केन्द्रीय, प्रदेश र स्थानीय नेतृत्व छान्नका लागि वडा तहमा भइरहेको चुनावमा युवा पंक्तिले बाजी मारिरहेको छ ।
जुम्लाको पालिकामा रहेका ६० वटा वडामै कांग्रेसको वडा तहको महाधिवेशन सम्पन्न भइसकेको छ । चन्दननाथ नगरपालिका ४ नम्बर वडाका क्रियाशील सदस्य ३३ वर्षीय दीपेन्द्रविक्रम हमाल वडा सभापतिमा चयन भएका छन् ।
नेविसंघमा क्रियाशील हमाल १४औँ महाधिवेशनमा वडा सभापतिमा चयन भएका हुन् । यसअघि उनी कांग्रेसको जुम्ला–काठमाडौं सम्पर्क समितिको उपसभापति रहँदै आएका थिए । यस्तै, चन्दननाथ नगरपालिका १० नम्बर वडामा पनि युवा नेता दुर्लभ खत्री वडा सभापतिमा चयन भएका छन् ।
कनकासुन्दरी गाउँपालका वडा नम्बर ८ को वडा सभापतिमा मात्रिका उपाध्याय चुनिएका छन् । यी पनि युवा नै हुन् । अहिले कांग्रेसको वडा तहको नेतृत्वमा युवा सक्रियता देखिएको नवनिर्वाचित वडा सभापति हमालले बताए । उनले भने, ‘सबैको साथ, सहयोगले वडाको नेतृत्व लिन सफल भएँ । अब स्थानीय, प्रदेश र केन्द्रसम्मै कांग्रेसमा पुस्तान्तरण हुनुपर्छ ।’
तीला गाउँपालिका वडा नम्बर २ को वडा सभापतिमा पनि युवा नेतृ चयन भएकी छन् । पहिलो पटक कांग्रेसले महिला वडा सभापति चयन गरेको हो । शुक्रबार सम्पन्न वडा अधिवेशनबाट कांग्रेस नेता÷ कार्यकर्ताले २६ वर्षीया सीता रावतलाई निर्विरोध वडा सभापतिमा चयन गरे ।
रावत जुम्लाको ६० वटा वडाको एक मात्र महिला वडासभापति बनेकी हुन् । सानै उमेरमा नेविसंघको राजनीतिमा लागेकी रावत पछिल्लो समय निस्क्रिय भए पनि दुई वर्षदेखि सक्रिय हुँदै आएकी थिइन् । ‘१२ कक्षासम्म पढेर खेतीपाती गर्दै आएकी छु’, उनले भनिन्’, यो पटक सबै नेता÷कार्यकर्ताले पत्याएपछि वडा सभापतिको जिम्मेवारीमा पुगेँ । अब वडाबाटै माथिसम्म कांग्रेसको भविष्य बनाउने जिम्मेवारी युवा पुस्तामा जानुपर्छ ।’
माइतीघर हिमा पालिकाकी उनी हाल पराई घर तिला गाउँपालिकाको वडा नम्बर २ लर्मी गाउँमा बस्दै आएकी छिन् । नेविसंघको राजनीतिमा उनी वडास्तरीय समितिको कोषाध्यक्षसम्म पुगेकी थिइन् । उनले भनिन्, ‘नेता÷कार्यकर्ता साथीहरूले पत्याएर सभापतिको जिम्मेवारी दिएका छन् । कांग्रेसलाई आप्mनै बलबुँतामा उँभो लैजान केन्द्रको नेतृत्वलाई दबाब दिनुपर्छ ।’
महिलालाई राजनीतिमा ल्याएर जागरुक बनाउन र असल राजीतिक चरित्रबारे नागरिकमा जागरण फैलाउन पहल गर्ने उनले सुनाइन् । वडा सभापतिमा उठेको २ मध्ये अर्का आकांक्षी मानबहादुर बोहरालाई हराएर उनले बाजी मारेकी हुन् । बोहरा वडाको तदर्थ समितिको सभापति हुन् । सीताले वडा सभापतिको उम्मेदवारी दिएपछि बोहराले छाडेसँगै निर्विरोध भइन् । जुम्लामा रहेका ६० वटामध्ये सीता एक्लो वडा सभापति हुन् ।
कांग्रेस तिलाको वडा नम्बर २ ले सीताको सभापतित्वमा १७ सदस्यीय कार्यसमिति र १७ सदस्यीय क्षेत्रीय प्रतिनिधि गठन गरेको छ । कांग्रेस क्षेत्रीय प्रतिनिधि कल्से रावतले तिलाको वडा नम्बर २ ले महिला वडा सभापति बनाएर उदाहरण प्रस्तुत गरेको बताए । उनले भने, ‘विकट बस्ती जुम्लामा राजनीति गर्ने महिला कमै भेटिन्छन् । सीता एक उदाहरण हुन् । उनको पार्टीप्रतिको लगनशीलता र अठोटका कारण वडा सभापति बन्न सकेकी हुन् । यसले कांग्रेसको जुम्ली राजनीतिमा नयाँ तरंग आउने आशा पलाएको छ ।’