झापा– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् ।
जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गरेका राम कट्टेल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएकाछन् । मेचीनगर–१० बाट उनीसहित सबै ८० क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको प्रचार प्रमुख हुमागाईँले बताए । नेता कट्टेल हाल पार्टीको जिल्ला उपसभापति छन् ।
मेचीनगरका ८, बुद्धशान्तिका ४, बिर्तामोडका ६, अर्जुनधाराका ५, कनकाईका ४, झापा गाउँपालिकाका ७, शिवसतासीका ३, कमलको १, गौरादहको २, गौरीगञ्जका २, भद्रपुरका ३, बाह्रदशीका ४ वडामा सबै पदमा निर्विरोध निर्वाचन सम्पन्न भएको हो ।
क्षेत्र नं १ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको जनाउँदै अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिए ।