भक्तपुर– भक्तपुरमा नेकपा एमालेबाट निर्वाचित अधिकांश जनप्रतिनिधि संस्थापन पक्षमै रहेका छन् । भक्तपुरका चार स्थानीयमा एमालेबाट निर्वाचित जनप्रतिनिधि ओली पक्षमा रहेको देखिएको हो ।
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ एमालेबाट निर्वाचित हुन् । उपप्रमुख अन्जनादेवी मधिकर्मी विपक्षी कांग्रेसबाट निर्वाचित हुन् । भक्तपुर नगरपालिकाका वडाध्यक्षसहित नगरप्रमुख सुनील प्रजापति र उपप्रमुख रजनी जोशी नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भएका हुन् ।
जिल्लाको नयाँ चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख बिना बास्तोला एमालेबाटै निवार्चित हुन् । पालिकाको ९ वडामध्ये ५ वटा वडाध्यक्ष विपक्ष पार्टीका छन् भने ४ वटा वडाध्यक्ष एमालेबाट निवार्चित भएका छन् । त्यसमध्ये कोही पनि माधव नेपालकोे नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा छैनन् ।
सूर्यविनायक नगरपालिकाका वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुख एमाले पक्षबाट निर्वाचित भएका हुन् । एमालेबाट निर्वाचित जनप्रतिनिधि एमालेमै खुलेका छन् ।
सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा र उपप्रमुख जुना बस्नेतसहित एमालेबाट निर्वाचित ७ जना वडाध्यक्ष अध्यक्ष ओलीको समर्थनमा छन् ।
नगरप्रमुख थापा र उपप्रमुख बस्नेत एमालेको कार्यक्रममा सहभागीसमेत हुँदै आएका छन् । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल र उपप्रमुख सरिता कुवँरसहित सबै सदस्य एमालेमै रहेका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा क्षेत्र १ बाट सांसद महेश बस्नेत निवार्चित भएका थिए भने क्षेत्र २ बाट प्रदेश सांसद सरस्वती बाटी निर्वाचित भएका दुवै । दुवै सांसद एमालेकमै रहेका छन् ।
लुम्बिनीमा एक सांसद मात्रै नेता नेपालको पार्टीमा
लुम्बिनी प्रदेशसभामा माधव नेपालको नेकपा एकीकृत (समाजवादी) पार्टी कमजोर देखिएको छ । नेकपा समाजवादीलाई पाल्पाकी एक समानुपातिक सांसदले इज्जत जोगाइदिएकी छन् ।
लुम्बिनी प्रदेशका प्रभावशाली नेता सबै एमालेमै रहे पनि लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले मंगलबार प्रदेश निर्वाचन कार्यालय दाङमा नेकपा एकीकृत समाजवादीमा सनाखत गरेकी हुन् ।
एमाले विभाजन भई नेता नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नेता नेपाललाई रोजेकी हुन् । उनी समानुपातिकतर्फ निर्वाचित सांसद हुन् ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख मीनराज भट्टराईको रोहवरमा घर्तीको हस्ताक्षर सनाखत भएको निर्वाचन कार्यालयले जनाएको छ । घर्तीले एमालेका अरू केही सांसद पनि एकीकृत समाजवादीमा आउने दाबी गरिन् ।
८० सदस्यीय प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका ३७ सांसद थिए । घर्तीले समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ मा झरेको छ ।
पाँच दलीय गठबन्धनसँग ४४ प्रदेशसभा सदस्य पुगेका छन् ।