काठमाडौं– माधवकुमार नेपाल समूहमा रहेका नेकपा एमालेका १० जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि पार्टी बैठकमा उपस्थित भएका छन् ।
१० बुँदे सहमति कार्यान्वयन गर्ने सहमतिसँगै तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाइएको एमालेको स्थायी कमिटी बैठकमा नेताहरू सहभागी भएका हुन् ।
बैठकमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा सहभागी छन् ।
सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट पुनस्र्थापित एमाले एकजुट हुन सकेको छैन । २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षको मात्र बैठक राखेर एकलौटी निर्णय गरेपछि माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गर्दै आएको थियो । नेता नेपालले २ भदौमा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिए ।
लामो समय उनीसँग रहेका स्थायी कमिटीका अधिकांश नेता नयाँ पार्टीमा नगएर एमाले स्थायी समिति बैठकमा सहभागी भएका हुन् ।