सुर्खेत– कोरोना महामारीमा गरिब विपन्न परिवारलाई राहत दिन खरिद गरेको चामल जनतालाई नदिएरै सडाइएको पाइएको छ ।
दैलेखको नौमुले गाउँपालिकाले कोरोना महामारीबाट प्रभावित परिवारलाई वितरण गर्न भनेर आफैले खरिद गरेको चामल वितरण गर्न नपाउदै गोदाममै सडाइएको छ ।
एक सय ५५ वोरा चामल शनिबार मुचुल्का गरी गाडेपछि यसको खुलासा भएको हो । नौमुले गाउँपालिकाले होटल नमस्तेको पछाडिको हलमा चामल थुपारेर सडाइएको छ ।
पालिकामा २०७६ चैतमा खाद्य डिपो दैलेखबाट झण्डै १ हजार ५६० बोरा चामल खरिद गरिएको थियो । भारतबाट आएकाहरु, गाउँमा खाद्यान्न कम भएका र असिना पीडितलाई वितरण गर्ने भनेर खरिद गरिएको चामल गोदाममै थन्किएको थियो ।
गाउँपालिकाले आफुसँग भएको चामलबारे समेत अनविज्ञता देखाएको छ । यता गाउँपालिका अध्यक्ष भदे बुढामगरले भने चामल राख्ने गोदाम पनि ओसिलो भएको र असारको महिनामा ल्याउदा केही चामल भिजेकोले वितरण नगरेको दावी गर्छन् ।
‘करिब २७ लाख बराबरको चामल खरिद गरिएको हो गाउँपालिका अध्यक्ष बुढामगरले भने, ‘खरिद गरिएको चामलमध्ये केही चामल ओसारपसार गर्दा पानीले भिजेको र केही चामल राखेको ठाउँ ओसिलो भएका कारण विगे्रकाले वितरण गरेका थिएनौँ ।’
खरिद गरिएको मध्ये अरु सबै वडा कार्यालय र क्वारेन्टाइनमा पठाइएको र सडेको चामल गोदाममै थन्किएको उनको दावी छ ।
‘केही दिन पहिले मात्रै सडेको चामललाई हामीले पत्रकार, नागरिक समाज, स्थानीय बुद्धिजिबी, राजनीतिक दल र प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडेका छौं’, उनले भने ।
करिब २७ लाखको कतिबोरा चामल वितरण गरियो र कति ल्याइएको थियो भन्ने विषयमा भने अध्यक्ष अनविज्ञ देखिएका छन् । पालिकाका स्थानीयले चामल खरिद प्रक्रियाभन्दा पनि वितरण प्रक्रियामा मिलेमतो रहेको हुनसक्ने बताए ।
‘उनीहरुले चामलको ढूवानीमा समेत भ्रष्टाचार गरेका छन् । एक रुपैंया प्रतिकेजी ढुवानी गर्छु भनेर भन्ने ट्रकलाई तीन रुपैंया प्रतिकेजी भुक्तानी दिएको पाइएको छ,’ स्थानीय नेता सशीराम विकले भने, ‘विश्व खाद्य कार्यक्रमबाट ल्याइएका चामल पनि विक्री गरेको पाइएको छ । तर त्यो पैसा कहाँ छ पालिकाले जानकारी पनि दिएको छैन ।’
राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा पालिकाका अध्यक्ष तथा पदाधिकारीले उतिबेला चामल वितरण गरेको उनको आरोप छ ।
‘पैक, द्वारी, कालिका लगायतका स्थानमा असिनापीडितलाई चामल वितरण गर्ने भनिएको थियो । मन परेकालाई चार बोरा, नपरेकालाई एक बोरा पनि नदिएको गुनासो आएको छ,’ उनले भने ।