रूपन्देही- लुम्बिनी प्रदेश सभासद् विमला वली खत्रीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको खुलासा गरेकी छन् । बुटवलमा बिहीबार पत्रकार सम्मेलन गर्दै सभासद् वलीले बुटवलस्थित मुख्यमन्त्री शंकर पोखरेलको निवासमा १५ साउनदेखि बुधबारसम्म बन्धक बनाइएको दाबी गरेकी हुन् ।
तीन दिनअघि मात्र वलीले प्रेस विज्ञप्ति प्रकाशित गर्दै आफू एमालेमा फर्किएको उद्घोष गरेकी थिइन् । पत्रकार सम्मेलनमार्फत साबिती बयान दिएकी सांसद वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको स्पष्ट पारेकी छन् ।
वलीले आफू दाङमा भएको बेला नेपालगन्ज माइती जाने भन्दै सँगै लगेर एमालेका मानिसले पूर्व–पश्चिम राजमार्गको अमिलियाबाट बुटवलतर्फ लगिएको दाबी गरिन् । सभासद् ओलीले वलीले मुख्यमन्त्री निवसमा सरस्वती गौतम र कमला विकसँगै राखिएको बताइन् ।
अमिलियाबाट बुटवल फर्काउँदै नै अपहरणमा परेको थाहा पाएको बताउँदै वलीले मुख्यमन्त्री निवासबाट बाहिरिने उपायको खोजीमा रहेको दाबी गरिन् । बुधबार आफूलाई राखिएको कोठामा गौतम र विक केही बेर नभएको मौका पारी निवासको तल्लो तलासम्म खाली खुट्टा र त्यसपछि बाथरुमको चप्पल लगाएर बाहिरिएको उनको भनाइ छ ।
चप्पल लगाउँदा भ¥याङमा आवाज आउने ठानेर खाली खुट्टा तल्लो तलासम्म ओर्लिएको उनले सुनाइन् । त्यसपछि कानमा मोबाइल राखेर कुरा गरेजस्तै गरेर बाहिर निस्कँदा सुरक्षाकर्मीले वास्ता नगरेको उनले बताइन् ।
वलीले आफूलाई जबर्जस्ती एमाले बन्न दबाब दिइएको खुलासा गरिन् । दाङ क्षेत्र ३ ख बाट निर्वाचित वलीले आफू दाङमै भएका बेला एमालेका सांसद भूमिश्वर ढकाल र मानबहादुर रावतले दबाब दिएको आरोप लगाइन् ।
वलीका अनुसार मुख्यमन्त्री पोखरेलसँग भेट गरौँ भनेर लगेका उनीहरूले माइन्युटमा हस्ताक्षर गरेर मात्र छाड्ने कुरा गरेका थिए । आफूलाई नेपालगन्ज सँगै जाने भनेर एउटै गाडीमा लगे पनि पूर्व–पश्चिम राजमार्गको अमिलिया पुर्याएर नेपालगन्ज नलगी बुटवल ल्याइएको उनले स्पष्ट पारिन् ।