सुर्खेत– कर्णालीमा एमालेभित्रको झगडा अझै सुल्झिने संकेत देखिएको छैन । कर्णाली प्रदेशसभाको शुक्रबारको आठौँ बैठकसमेत एमाले झगडाकै कारण अवरुद्ध भयो ।
गत २४ जेठबाट सुरु भएको प्रदेशसभाको आठौँ बैठक प्रमुख प्रतिपक्ष एमालेले अवरुद्ध गर्दै आएको छ । तर, सरकारकालाई एमालेकै माधवकुमार नेपाल पक्षधर सांसदले साथ दिएका छन् ।
गत २३ वैशाखमा एमालेका माधव–खनाल झलनाथ पक्षका चार सांसदले पार्टीको ह्विप उल्लंघन गर्दै फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
विश्वासको मत पाएसँगै आफ्नो कुर्सी जोगाउने दिने नेता नेपाल समूहका एमाले सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढामध्ये प्रकाश ज्वालाबाहेक बाँकी तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्री पद उपहार दिए ।
फ्लोर क्रस गरेपछि उनीहरूलाई चारै जनालाई पार्टीले कारबाही गरेको हो । पार्टीले कारबाही गरेपछि आफूहरुलाई अन्याय भएको भन्दै न्याय माग्द सर्वोच् अदालत गए । गत २७ जेठमा चारै जना सांसदलाई सर्वोच्चले पुनर्वहाली गरेको थियो ।
चारै जना सांसद पुनर्वहाली भई पार्टीमै फर्किएपछि मन्त्री बनेका एमालेका तीनै जनालाई माओवादी नेतृत्वको सरकारबाट तत्काल राजीनामा दिई प्रमुख प्रतिपक्षको बेञ्चमा बस्न एमाले संसदीय दलले आग्रह गरेको छ । तर, तीनै जना मन्त्रीले उक्त निर्देशनको पालना नगरी सत्ता पक्षको बेञ्चमा बसेको र सरकारबाट राजीनामा नदिएकाले प्रदेशसभा बैठक अवरुद्ध भएको हो ।
आर्थिक वर्ष २०७८/८९ को नीति तथा कार्यक्रम पारित गत १ असारमा बजेट सार्वजनिक भएको थियो । तर, त्यसयता बैठक बसे पनि कार्यसूचीमै प्रवेश हुन नपाउँदै प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको छ । शुक्रबार बसेको कर्णाली प्रदेशसभा बैठक पनि कार्यसूचीमा प्रवेशै गर्न नपाएर अवरुद्ध भयो ।
शुक्रबार दिउँसो २ बजेबाट सुरु भएको बैठक झन्डै १५ मिनेट चलेको थियो । बैठकमा कार्यसूची प्रवेशै गर्न नदिएर एमाले सांसद देवी ओलीले सुरुमै सभामुखले वाचन गरेअनुसार व्यवस्था र एमालेले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेल संसद्को कारबाही अगाडि बढ्न नदिइने बताइन् ।
उनले घोषणा गरेलगत्तै बैठकमा सहभागी एमालेका सबै सांसद रोस्ट्रममा उठिसकेका थिए । सभामुख राजबहादुर शाहीले बारम्बार बसेर बैठक सुचारुका लागि वातावरण मिलाउन आग्रह गर्दागर्दै ३ मिनेट पुगिसकेको थियो ।
एमाले सांसद दानसिंह परियारले प्रदेशसभा बैठक एमालेका कारणले नभएर संसदीय व्यवस्थाअनुसार नभएकाले संसद् अवरुद्ध गर्नुपरेको बताए । परियारले भने, ‘सर्वोच्चले पुनर्वहाली गरेपछि सभामुख शाहीले ३१ जेठको सभामा एमालेका चार जना भनेर पत्र वाचन गर्नुभयो । अब, कर्णालीमा नेकपा एमालेको अवस्था नयाँ समीकरणसहित अघि बढ्यो भन्ने हामीले सोचेका थियौँ । तर, आज उनै व्यक्ति सत्तामा छन्, उनै एमालेविरुद्धमा र उनै मान्छे सरकारको नेतृत्व गरिरहेका छन् । हामीले हेरिबसेका छौँ । लज्जाबोध भइरहेको छ ।’
अदालतले एमाले बनाइदिँदासमेत पार्टीको पक्षमा नभएकोप्रति उनले टिप्पणी गरे । एमालेका सांसदले करिब १० मिनेट रोष्ट्रममै उभिएर विरोध गरेपछि सभामुख शाहीले पटक–पटक बैठक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । एमालेले नटेरेपछि २४ असार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।