रुपन्देही- तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरीले नेकपाको प्रचण्ड-नेपाल खेमा परित्याग गरेका छन् ।
बुटवलमा भएको आमसभाको भोलिपल्ट घनश्याम भुषालका अत्यन्त निकट रहेका घिमिरे र चौधरी ओली खेमामा देखिएका छन् ।
नेकपा विवादपछि उनीहरु प्रचण्ड-नेपाल खेमामा सक्रिय थिए । प्रचण्ड-नेपाल खेमाका रुपन्देहीका विभिन्न कार्यक्रम समेत घिमिरेकै नेतृत्व र सक्रियतामा हुँदै आएका थिए ।
घिमिरे र चौधरीसँगै तिलोत्तमाका अधिकांश कार्यपालिका सदस्यले बैठक बसी उक्त खेमा छोड्ने निर्णय गरेको हो ।
नेकपा महासचिव बिष्णु पौडेलले एउटा तस्बिर फेसबुकमा पोष्ट गर्दै घिमिरे र चौधरी आफूहरूसँगै रहेको पुष्टि गरे ।
बुटवलको भेलालाई सम्बोधन गर्न बुटवल आएका महासचिव पौडेललाई बिदाइ गर्न प्रमुख घिमिरे तथा उपप्रमुख चौधरीसहित सैनामैनाका प्रमुख चित्र कार्की भैरहवा विमानस्थल पुगेका थिए ।