नवलपरासी पश्चिम– पश्चिम नवलपरासीका नेकपा ओली पक्षको अगुवा कार्यकर्ता भेला तीब्र बनाएको छ । पार्टीको दाहाल नेपाल समूहले पाल्हीनन्दनमा जिल्ला भेला तथा प्रशिक्षण गरेलगतै ओलीपक्षले पालिकास्तरका भेला तीब्र बनाएको हो ।
सो क्रममा ओली समुहले बर्दघाट नगरपालिका र रामग्राम नगरपालिकामा भेला गरेको छ । बर्दघाटमा सोमवार भएको भेलामा पार्टीका केन्द्रीय सदस्य बद्रीनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाटै काम गर्न नदिएका कारण बाध्यताबश संसद बिघटन गर्नुपरेको बताए । उनले पार्टीले सरकारलाई काम गर्न नदिएपछि संसद विघटन भएको तर्क गरे ।
केन्द्रीय सदस्य सरिता भुसालले नेकपाको मुलबाटोमा यही भएको बताइन । उनले मूलबाटो छोडेर नजान नेता कार्यकर्तालाई आब्हान गरिन् । कार्यक्रममा बर्दघाट नगर उपप्रमुख मायादेवी पौडेल रुक्मागत ज्ञवाली, बर्दघाट–४ का वडाध्यक्ष रविन्द्रबिक्रम हमाल, अनेमसंघ जिल्ला संयोजक राधा ढकाललगायतले बोलेका थिए ।
बर्दघाट नगरमा नेकपाको अन्तरसंर्घष चुलिएको छ । नेता कार्यकर्ताहरु पूर्वसमूहमा लाग्ने र समूह परिर्वतन गर्न चलखेल गर्ने क्रमले तीब्रता पाएको छ । कार्यकर्ता तानतान अवस्थामा छन् ।
नेकपा रामग्रामको अध्यक्षमा यादव
प्रधानमन्त्री ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रामग्राम नगर कमिटीको अध्यक्षमा हरिलाल यादव चयन भएका छन् । नेकपा रामग्राम नगर कमिटीको सोमवार सम्पन्न विस्तारित भेलाले अध्यक्षमा यादव र सचिवमा दीपक गैरेलाई चयन गरेको हो ।
जनसांस्कृतिक महासंघमा जलेसा प्रदेश इन्चार्ज
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट जनसांस्कृतिक महासंघ नेपालको विस्तारित बैठक सम्पन्न भएको छ । काठमाडौँमा भएको बैठकले महासंघकी केन्द्रिय सदस्य सिन्धु जलेसा बुढाथोकीलाई लुम्बिनी प्रदेशको ईन्चार्जको जिम्मेवारी दिएको छ ।
जलेसा नेकपा(ओली समूह)को केन्द्रिय सदस्य समेत हुन । यसैगरी पश्चिम नवलपरासीबाट राजकुमार श्रेष्ठ जनसांस्कृतिक महासंघको केन्द्रिय सदस्यमा मनोनित भएको महासंघले जनाएको छ ।