काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेपछि यतिबेला केन्द्रीय राजनीति र प्रशासनको ‘हेडक्वाटर’ सिंहदरवारमा बसेर नेकपाको एउटा पक्ष र सरकार हाँकिरहेका छन् ।
मध्य पुसको जाडोमा राजनीतिक संयोग पनि यस्तो गज्जवको जुरेको छ कि प्रधानमन्त्री ओली कदमको विरोध गर्न पाँचजना पूर्वप्रधानमन्त्री सडकमा उत्रिएका छन् ।
ओली कदमको विरोध गर्दै उनकै पार्टीका तीनजना पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल (प्रचण्ड), झलनाथ खनाल र माधव कुमार नेपाल माइतीघर मण्डलामा सडकमै बसे र भने– हामी यता छौं ।
भुक्तानी नपाएर सडकमै सुत्ने र सडकमै खाने गरिरहेका उखु कृषकको वेदना सुन्न यी तीन पूर्वप्रधानमन्त्रीलाई ओलीले प्रतिनिधिसभा भंग गर्नुअघि फुर्सद नै निस्किएन । तर ओली कदमपछि तीनैजना पूर्वप्रधानमन्त्रीले आफुहरु सडकमै रहेको संकेत गरे, उखु कृषकसँगै बसेर ।
तीनजना पूर्वप्रधानमन्त्री सडकमा निस्किएपछि अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईपनि आज सडकमै उत्रिए । तर उनले भने माइतीघर नरोजेर रत्नपार्कको शान्तिबाटिका रोजे । प्रतिनिधिसभा पुर्नस्थापनाका लागि उनी सडकमा आए ।
सडकमा उत्रिने क्रम भोलि पनि जारी रहने छ । भोलि अर्का पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवापनि सडकमै आउँदैछन् । तर अन्य चारजनाले जस्तै उनले भने प्रतिनिधिसभा पुर्नस्थापनाको नारा भने लगाउदैनन् भन्नेमा धेरैको शंका छ ।
कांग्रेस प्रतिनिधिसभा पुर्नस्थापनाको एजेण्डा बोक्ने कि निर्वाचनमा जाने भन्नेमा विवादमै छ । देउवा निर्वाचनमा जाने पक्षमै रहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाको दवावबीच उनी काठमाडौंको सडमा उत्रन लागेका हुन् ।