close

मुलुकलाई समृद्ध बनाउने अवसर : परराष्ट्रमन्त्री ज्ञवाली

मुलुकलाई समृद्ध बनाउने अवसर : परराष्ट्रमन्त्री ज्ञवाली

Trulli
ADVERTISEMENT

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताएका छन् ।


गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनलाई शनिबर सम्बोधन गर्दै उनले कोभिड–१९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको समृद्धि गर्नुपर्नेमा जोड दिए ।


मन्त्री ज्ञवालीले कोभिड–१९ का कारण विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउने काम तीव्र गतिमा भइरहेको जानकारी गराउँदै वर्तमान असहज परिस्थितिलाई अरु बेलाजस्तै सहज रुपमा नलिन आग्रह गरे ।


‘विदेशमा अलपत्र नागरिक फर्काउने क्रममा केही कठिनाइ भएको छ, असहज परिस्थिति भएकाले पनि सोचे जस्तो नहुन सक्छ भन्ने कुरा बुझिदिन आग्रह गर्छु’, उनले भने । ज्ञवालीले तेस्रो मुलुकबाट झन्डै ३ लाख नेपाली स्वदेश फर्कन लागेको र अहिलेसम्म ७६ हजार बढी नेपालीलाई उद्धार गरिएको बताए ।


भारतबाट मात्र ५ लाख नेपाली स्वदेश फर्किएको र तेस्रो मुलुकसहित गरी करिब १० लाख वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्कन लागेकाले तत्काल उनीहरुलाई रोजगारी सिर्जना गर्नु अर्को चुनौती रहेको पनि उनको भनाइ छ ।


नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको योगदान रहेकाले अब नेपालमा लगानी गरी रोजगारी सिर्जना गर्ने वातावरणमा सहयोग गरिदिन पनि मन्त्री ज्ञवालीले आग्रह गरे ।कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा संरक्षक देवमान हिराचनले नेपालमा विदेशी तथा गैरआवासीय नेपाली लगानी गर्न इच्छुक रहेकाले लगानी वातावरण सहज बनाइदिन आग्रह गरे ।


संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले अस्ट्रेलियाको भिक्टोरिया राज्य समन्वय परिषद्लाई त्यहाँको स्थानीय सरकारले १ लाख ५० हजार डलर आर्थिक सहयोग गरेको उदाहरण दिँदै आफू बसेको देशमा विश्वास दिलाउन सकेको खण्डमा स्थानीय सरकारबाट पनि सहयोग मिल्नेतर्फ ध्यान दिन आग्रह गरे ।


संघका अध्यक्ष कुमार पन्तले संघले प्रविधिलाई समयसापेक्ष उपयोग गर्दै ‘स्मार्ट एनआरएन’ अवधारणालाई लागू गर्न लागिपरेको जानकारी गराए । उनले नेपालको आर्थिक समृद्धिमा थप योगदान गर्न गैरआवासीय नेपाली तयार रहेको उनको भनाइ छ ।


म्यानमारका लागि नेपाली राजदूत भीम उदास, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलालगायतले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधिको हस्तान्तरण गर्दै मुलुकको समृद्धिमा लगाउनुपर्नेमा जोड दिएका थिए ।