धादिङ । केही दिनदेखिको अविरल वर्षाका कारण धादिङको त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकाको विभिन्न स्थानमा बाढी पहिरोले ७५ घर पहिरोको जोखिममा छन् ।
निरन्तरको वर्षाले जताततै पहिरो खस्न थालेपछि बस्तीहरु प्रभावित भएका हुन् । अविरल वर्षा पछिको पहिरोले गंगाजमुना गाउँपालिका-६ बसेरीमा २४ घर परिवार प्रभावित भएका छन् । गएको बिहिबार रातिदेखि उनिहरु घर छाडेर छिमेकीको घर गोठमा बसिरहेको पूर्ववडाअध्यक्ष भक्तबहादुर लामिछानेले बताए ।
नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायण तिमल्सिनाका अनुसार गंगाजमुना-६ बुढाथुममा १४ घर, वडा नम्बर ५ फुलखर्कमा १४ घर, वडा नम्बर २ रिगाउँ मा १३ घर विस्थापित भएको प्रारम्भीक सूचना जिल्ला विपद व्यवस्थापन समितिमा आएको छ ।
गंगाजमुना गाउँपालिका नवनिर्वाचित अध्यक्ष भक्त लामाका अनुसार एकैपटक धेरै घर परिवार विस्थापित भएकोले रेडक्रस र जिल्ला विपद व्यवस्थापन समितिलाई सहयोगका लागि अनुरोध गरिएको छ ।