काठमाडौँ । बालेन्द्र साहले काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा कार्यभार सम्हालेको आज ५ दिन भएको छ ।
५ दिन कुनै लामो समय होइन । बुझ्नेले बुझेका छन् । तर, फोहरबाट आजित काठमाडौँका बासिन्दा यति अधैर्य बनिसकेका छन् कि उनीहरू साहबाट चमत्कारको आशा गरिरहेका छन् ।
मेयर साहको अहिले ठुलो टाउको दुखाइसमेत काठमाडौंको फोहर व्यवस्थापन नै हो । यसका लागि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत सहयोगको आश्वासन पाएका छन् ।
काठमाडौंमा जम्मा हुने फोहर नै यहाँ सधैँ राजनीतिक नारा बन्ने गरेको छ । चुनावका बेला सबैले चमत्कारिक रुपमा फोहर व्यवस्थापन गर्छु भन्छन् । फोहर प्रशोधन गरेर महानगरपालिकाको आम्दानी बढाउने दाबी गर्छन् । तर, यही फोहरको डङ्गुरले नै काठमाडौं महानगरपालिकामा मेयरहरूलाई असफलको ट्याग भिराउँदै आएको छ ।
हुनत मेयरमा जित हात पारेसँगै साहले सिसडोल र बञ्चरेडाँडाको भ्रमण गरे । सिसडोलतिर नभएर बञ्चरेडाँडामा फोहर व्यवस्थापनसमेत हुन थालेको थियो । तर, काठमाडौँको एक चक्कर लगाउने हो भने सहरमा फैलिएको दुर्गन्धमा कुनै कमी आएको छैन ।
फरक छ, हिजोसम्म यत्रतत्र छरिएर रहने फोहरहरू बोरामा कोचेर चाङ मिलाएर राख्न थालिएको छ । तर, त्यो चाङबाट निस्किने दुर्गन्धले बटुवाहरूलाई सास्ती नै दिइरहेको छ ।
हुनसक्ला काठमाडौँको फोहर व्यवस्थापन नभएसम्म माला नलगाउने तथा उत्सव नमनाउने वाचा गरेका मेयर साह यही विषयमा काम गरिरहेका होलान् । चाँडै नै मेयर साहले गलामा माला पहिरिएर छमछमी नाच्दै उत्सव मनाएको हेर्ने चाहना अहिले समस्त काठमाडौंवासीको छ ।