कञ्चनपुर- व्यावसायिक तरकारीखेतीमा संलग्न कृष्णपुर नगरपालिका–६ का ११० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ । तरकारीखेती गर्नमा सघाउ पुर्याउनका लागि वडा कार्यालयले चालु आवको स्वीकृत कार्यक्रमअन्तर्गत तीन लाख बजेटमा किसानलाई टनेल उपलब्ध गराएको हो ।
“व्यावसायिक तरकारीखेतीमा संलग्न तत्काल प्लाष्टिक टनेल निर्माण गर्नुपर्ने अवस्थाका किसानलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रममा सहभागी गराएका छौँ”, वडाध्यक्ष बाबुराम चौधरीले भने, “टनेल माग गरेका अन्य ९९ जनालाई पनि प्राथमिकतामा राखेर कार्यक्रममा समेट्छौँ ।” त्यसका लागि आवश्यकपर्ने बजेटको व्यवस्था गरिने उनले बताए ।
नगरपालिको वडा नं ६ को सिंहपुर, बालुवाफाँटालगायत तरकारी पकेट क्षेत्रका रुपमा रहेको छ । वडाका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । जिल्लाको तरकारीको आधा माग वडामा उत्पादन हुने तरकारीले धानिँदै आएको वडाध्यक्ष चौधरीले बताए ।
यसैगरी आजै वडाबाट पाँच सय किसानलाई दुई लाख मूल्य बराबरको लौका, करेला, भिन्डी, प्याज, फर्सीलगायतका बेमौसमी तरकारीको बीउ निःशुल्करुपमा उपलब्ध गराइएको छ ।
वडामा रहेका थारु गाउँका भलमन्साका लागि एक/एक स्टील दराज वितरण गर्ने कार्य रहेको उल्लेख गर्दै उनले एक दुई दिनभित्रै वितरण गरिने बताए । यस्तै वडाका ४० महिलालाई व्यवसायउन्मुख गराउनका लागि युनिक नेपालको सहयोगमा सिलाइकटाइ तालिम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
---