भक्तपुर- उमेरले ४० कटेका उमेश खड्का आजभोलि हरेक दिन कृषि फार्ममै घोटिएका हुन्छन् । पहिले लागूऔषध दुर्व्यसनीको दलदलमा परेका खड्कालाई कृषि कर्मले परिश्रमी बनाएको छ ।
‘हिजो मेरो संसारै लागूऔषध थियो । तर, आजको संसार भनेको मेला लागि यही कृषि हो,’ उनले भने, ‘सुखले मात्तिएरै होला, दुर्व्यसनमा दलदलमा फसेँ । त्यो समय मेरो आफन्त सबै टाढा भइसकेका थिए । सबै मलाई देख्नेबित्तिकै ३ कोश टाढा भाग्थे,’ खड्काले विगत कोट्याए ।
अहिले भने सबैले माया मात्रै होइन, सम्मानसमेत गर्न थालेको उनको अनुभव छ । खड्कासँगै कुमार नेपालीलाई पनि चुरोटबाट सुरु भएको लागूऔषधले विस्तारै गाँजा हुदै निकोसनसम्म ल्याई पुर्यायो । लागूऔषध दुर्व्यसनीको भएको पत्तै पाएनन् ।
समाजबाट मात्रै होइन, परिवारबाटै घृणा हुन थाल्यो । सबैसामु मृत घोषित भइसकेका नेपाली भक्तपुरमा जीवित छन् । तर, परिवारका कुनै सदस्यले उनलाई सोधखोज गर्दैनन् ।
‘आजसम्म कसैलाई भेटेको छैन । घरपरिवारको खबर के छ, थाहा छैन । सबैले मलाई मरेको भन्छन् । तर म यहाँ लागूऔषध छाडेर पुनर्जीवन पाइसकेको छु’, नेपालीले खुसी साटे ।
उनीहरू यहाँका केही उदाहरण मात्रै हुन् । भक्तपुरमा दुर्व्यसनमा फसेका ९ जना युवाले कृषि कर्म गर्दै आएका छन् । उनीहरूले अरूलाई पनि रोजगारीसँगै तालिमसमेत दिँदै आएका छन् ।
‘एक परिवारलाई रोजगारी दिएका छौँ । उनीहरूलाई खाने-बस्ने सुविधासहित २५ हजार रुपैयाँ तलब दिन्छौँ,’ खड्काले भने, ‘लकडाउनको समय १२ जनालाई रोजगारी दियौँ । विभिन्न सहकारीका सदस्यलाई कृषि तालिमसमेत दिने गरेका छौँ ।’
दुर्व्यसनको कारण भाइको मृत्यु भएपछि अब सुध्रिनुपर्छ भन्ने चेत पलाएको उनी सुनाउँछन् ।
सुरुआतले ल्याइदिएको परिवर्तन
सन् २००७ मा स्थापित सुरुआतले विशेषगरी लागूऔषध दुर्व्यसनमा फसेका व्यक्ति तथा परिवारका लागि सहयोग गर्दै आएको छ । उनीहरूलाई लागूऔषधबाट छुटकारा दिने मात्रै होइन, स्वावलम्बीसमेत बनाउन संस्थाले पहल गरिरहेको छ । उपचारसँगै सीपमूलक तालिम दिने गरिन्छ ।
विशेषगरी कृषिसम्बन्धी तालिम दिने गरिन्छ । कुनैलाई संस्थाकै फार्ममा काम गर्न लगाइन्छ । आफैँ काम गर्न चाहनेलाई काम सिकाएर संस्थाबाट लगानी गर्दै आएको छ । तरकारी खेती गर्न टहरा बनाइने संस्थाका अध्यक्ष उमेश खड्काले बताए ।
कृषिबाट आएको पैसा उनीहरू (दुर्व्यसनी) लाई नै लगानी गर्ने गरिएको छ । सधैँ अरूले सहयोग नगर्ने भएकाले आत्मनिर्भर हुन कृषि फार्म सञ्चालनमा ल्याइएको हो । दुर्व्यसनमा फसेका ९ सय व्यक्तिलाई संस्थाले सहयोग गर्दै आएको छ । उनीहरूका लागि आवश्यक पैसा फार्मबाटै जुट्ने गर्छ ।
कृषि नै किन ?
उनीहरूका अनुसार कृषिमा परिश्रम धेरै गर्नुपर्छ । यसले भोकको सिर्जना हुन्छ । थकान हुनुका साथै निद्रा पनि पर्छ । त्यसैले पनि कृषि फार्म खोलिएको खड्का सुनाउँछन् ।
खड्काको फार्ममा गोलभेडा, काउली, सागलगायत झन्डै १ दर्जन तरकारी खेती गरिएको छ । उत्पादित कृषि सामग्रीलाई कालीमाटीमा बिक्री गर्न लगिन्छ ।
‘पहिला हामीलाई निद्रा पैसा तिरेर किन्नुपर्थ्याे । तर, अहिले कृषि कर्म समातेपछि प्राकृतिक निद्रा लाग्ने गर्छ’, नेपाली भन्छन् ।