जीवनको केही समय मलेसियामा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेश फर्किएर तरकारी खेतीमा लागेका जनार्दन प्रसाद चाई को आर्थिक अवस्थाले कोल्टे फेरेको छ ।
दुई वर्ष मलेसियामा पसिना बगाउँदैमा बित्यो । गरिबीका कारण घर मायादेवी गाउँपालिका–५ सेमरनाका जर्नादन प्रसादको खर्च चलाउन नसकेपछि मलेसिया हानिएका चाई त्यहाँ पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए । घर फर्केर हलो र कोदाली बोकी आप्mनै खेतको माटोमा पसिना बगाउन थालेपछि चाइले आम्दानी गर्न थाले ।
‘सुरु–सुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिनँ’, उनले भने, ‘कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउलास् भनेर गिज्याए । तर, म आफ्नो काममा लागिरहें । अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ ।’
“करिब लाख रुपैयाँ खर्चेर मलेसियामा काम गर्न गएँ । त्यहाँको एउटा फर्निचर उद्योगमा काम थालें,’ उनले भने, ‘सबै खर्च कटाएर जसोतसो मासिक १५ हजार रुपैयाँ बचाउँथे । राम्रो कमाइ हुन नसकेपछि अब आफ्नै गाउँघरमा केही गर्नुपर्छ भनेर दुई वर्षपछि स्वदेश फर्किए ।’
स्वदेश फर्किएर तरकारी खेती गर्ने निधो गरेर त्यसमा लागे र अहिले तरकारी खेतीबाटै राम्रो आम्दानी भइरहेको उनको भनाइ छ ।
‘यही माटोमा पसिना बगाउन थालेपछि बुझें, विदेशमा बगाउने पसिना आफ्नो माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ’, उनले खुसी साटे, ‘विदेश गएपछि बल्ल मलाई चेत आयो । सन्तानलाई स्वदेशमै परिश्रम गरे पैसा फलाउने माटो चिनाइदिएँ ।’
भैरहवा लुम्बिनी सडकखण्डको सेमरनामा ६ बिघा जग्गा लिजमा लिएर जनार्दनको परिवारले तरकारी खेती गर्दै आएको छ । उनले भने, ‘तरकारी खेती हाम्रो पुख्र्यौली पेसा पनि हो ।’
अहिले जनार्दनको खेतबारीमा गोलभेंडा, काँक्रो, करेला लटरम्मै छ । खेतबारीमा फलेको तरकारी बिक्री भएर आएको कमाइका कारण उनको घरपरिवारमा खुसी र सन्तुष्टि छाएको छ ।
तरकारी खेतीका लागि उर्बर जमिन भएपनि पर्याप्त लगानी नहुँदा उत्पादन बढाउन नसकिएको गुनासो जनार्दन गर्छन् । आफ्नो खेतबारीमा उत्पादित तरकारी किन्न बुटवल र भैरहवाबाट गाडी लिएरै खेतबारीमा ग्राहक आइपुग्ने गरेको उनले बताए ।
रुपन्देहीको मर्चवार क्षेत्रको समरीमाई, कोटहीमाई र मर्चवारी गाउँपालिकाको अधिकांश घरपरिवारको मुख्य आम्दानीको स्रोत कृषि उत्पादन हुने गरेको छ ।