रुकुम पश्चिम - चौरजहारी नगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएकाे छ । नगरपालिकाको वडा नम्वर १४ स्थित तिमिलेको रागेचौरमा सोमबार पहिलोपटक नगर बस सेवा सञ्चालनमा ल्याएकाे हो ।
कर्णाली प्रदेश ०२-००१ ख ०१७९ नम्बरको नगरबस सञ्चालनमा आएको नगरपालिकाले जनाएकाे छ । चौरजहारीको बस पार्कबाट कोटजहारी, जोगिनेटा हुँदै तिमीले रागेचौर सम्मको रुटमा बस सेवा सञ्चालन भएको हो । साँघुरो सडकको कारण लामो समयदेखि यातायात सञ्चालन हुनसकेको थिएन । बर्षात सकिएसँगै नगरपालिकाको डोजरले सडक बिस्तार गरेपछि पहिलोपटक गाउँमा गाडी पुगेको जनाइएकाे छ ।
सर्वसाधारणहरुका लागि यातायातको पहुँच पुर्याउन नगर बस सञ्चालनमा ल्याईएको नगरप्रमुख पुष्प बादीले बताए । पालिकाको दुर्गम वडामा रहेका नगरबासीलाई सधैं सेवा दिने प्रतिबद्धतासमेत उनले जाहेर गरेका छन् । पहिलोपटक गाउँमा गाडी पुगेको उपलक्ष्यमा स्थानीयले चालक जितबहादुर बुढाथोकीलाई स्थानीयले फूलमालाले स्वागत गरेका छन् ।
उक्त रुटमा नगरबस बिदाको दिन बाहेक दैनिक बिहान ७ बजे तिमीलेबाट चौरजहारीसम्म छुट्ने र बेलुका चौरजहारीबाट साढे दुई बजे फर्कने जनाईएको छ ।