पर्वत - पैँयू गाउँपालिकाको न्यायिक समितिमा ७ वटा मात्रै उजुरी दर्ता भएको छ । दोस्रो कार्यकालका लागि निर्वाचित भएयता गाउँपालिकाकाे समितिमा ७ वटा मात्रै उजुरी दर्ता भएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक याम कुमारी रानाका अनुसार उजुरीमध्ये ६ वटा विवादको समाधान भइसकेको छ । गाउँपालिकामा थोरै विवाद हुने भएकोले समितिमा थोरै उजुरी परेको उनले पालिकाखबरलाई बताइन् ।
उनका अनुसार समितिका उजुरीमध्यै जग्गासम्बन्धी विवादको छिनोफानोको लागि अदालतमा पठाइएको छ । उनले न्यायिक कार्य सहज बनाउनका लागि ४८ घण्टे मेलमिलाप तालिम सञ्चालन गरेको बताइन् ।
'प्रत्येक वडामा ३ जना मेलमिलाप कर्ताको व्यवस्थापन गरेका छौँ । उहाँहरुले नसकेको मात्रै न्यायिक समितिमा आउने गर्छ,' उनले भनिन्, 'मेलमिलापकर्ताका लागि ८ वर्षीय नविकरण पनि गाउँपालिकाले नै गरेको छ ।'
विवादलाई न्यूनीकरण गर्नको लागि गाउँपालिकाले स्थानीय बासिन्दालाई प्रशिक्षण दिएको उनले सुनाइन् । सोही भएर पनि कम विवाद भएको उनी बताउँछिन् ।