मोरङ। धनपालथान गाउँपालिकाले दलित तथा विपन्न घर परिवारको लागि सुरक्षित आवास बनाउँदै आएको छ ।
वडा नं ५ को ऋषिदेव बस्तिमा घर बनाइरहेको गाउँपालिकाका अध्यक्ष जीवछ प्रसाद गच्छदारले जानकारी दिए। उनका अनुसार वडा नं ५ मा हालसम्म २४ वटा घर बनिसकेका छन् भने १५ वटा घर निर्माणधीन अवस्थामा छ। उनले वडा कार्यालयले विनियोजन गरेको रकमबाट उक्त घरहरु निमार्ण भइरहेकाे पालिकाखबरलाई जानकारी दिए ।
उनको अनुसार गाउँपालिका, ह्याविट्याट कम्पनी र साहारा नेपालबीच भएको त्रिपक्षीय सम्झौता अनुरुप घरहरुको निर्माण गरिएको हो। गाउँपालिकाको ५० प्रतिशत र ५० प्रतिशत संस्थागत अनुदानमा प्रति घर ४ लाख रकम खर्च गरिएको उनले बताए ।
फुसको घरमा बसोबास गर्ने व्यक्तिहरुको बासस्थान व्यवस्थापन गर्नका लागि दलित तथा विपन्न परिवारको लागि घर बनाउन उक्त योजना ल्याइएको अध्यक्ष गच्छदारले जानकारी दिए।
उनी भन्छन्, ‘हाल निर्माण गरिएको ह्याविट्याटको परिकल्पनाअनुसार बाँसको प्रयोगबाट निर्माण गरिएको छ । बाँसको उपचार गरिएर प्रयोग गरिएकाले टिकाउ हुने रहेछ। बाहिरबाट प्लास्टर र रङरोगन गरिएकाले आगोलागीको पनि डर हुँदैन।’ झुपडीमा बसेका, विपन्न परिवारका असुरक्षित बसाेबास गर्दै आएका स्थानीयलाई व्यवस्थित र सुरक्षित आवास दिलाउनका लागि आगामी आर्थिक वर्षमा अन्य वडामा पनि उक्त कार्यक्रम लैजाने अध्यक्ष गच्छदारको भनाई छ ।
गाउँपालिकाकी उपाध्यक्ष नसिमा बानोले धनपालथान बोर्डरको छेउमा रहेको पालिका भएकाले विपन्न परिवार धेरै रहेको बताइन्। दलित, जनजाति र विपन्न परिवारको क्षमता विकासको लागि पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको उनले बताइन्।
उनले भनिन्, ‘क्षमता विकासमा ड्राइभिङ तालिम सञ्चलान गरिरहेका छौँ । महिलाहरुको लागि सिलाईकटाई, ब्युटिसियन,गुडिया, डल बनाउने तालिम दिएका छौँ। इलेक्ट्रसियनको तालिम निरन्तर रुपमा दिँदै आएकाे छाैँ ।’
गर्दैखाँदै गर्ने व्यक्तिहरुलाई सहयोग गर्ने उनले बताइन्। काम गर्ने इच्छा भएका स्थानीयलाई पालिकाले कसरी साथ दिन सक्छ भन्ने कुरामा पनि ध्यान दिइरहेको उनको दावी छ।