close

धनकुटाका पहिरापीडितलाई स्थान्तरणको तयारी

धनकुटाका पहिरापीडितलाई स्थान्तरणको तयारी

Trulli
ADVERTISEMENT

धनकुटा । धनकुटा नगरपालिकाले   पहिरा विस्थापित परिवारलाइ स्थान्तरण गरिने भएको छ ।  नगरपालिकाले वडा नं ८ स्थित याक्ते गाउँका विस्थापितलाई  धनकुटा– ७ स्थित बजार क्षेत्रको श्रीवानीमा स्थानान्तरण गर्ने अन्तिम तयारी भइरहेका जनाइएको छ । 

नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति उपेन्द्र खनालले सङ्घीय, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा विस्थापितका लागि रु ७५ लाख बराबरको सात रोपनी जमिन खरिदको सम्झौता भइसकेको जानकारी दिए ।
 
हाल सरकारले जमिनको कित्ताकाट रोकेकाले उक्त जमिन वर्गीकरण गरेर कित्ताकाट गर्ने मापदण्ड तयार गर्नका लागि परामर्शदाता मार्फत काम भइरहेको उनले बताए ।
 
 'परामर्शदाताको प्रतिवेदन आएपछि कित्ताकाटका लागि नगरबाट सम्बन्धित निकायमा सिफारिस गरेपछि तुरुन्त काम हुनेछ', उनले भने, 'आउने बर्खाअघि नै पीडितहरुलाई स्थान्तरण गरिने छ ।' उनीहरुलाई प्रतिघर चारदेखि पाँच आनासम्ममा तीनै तहको सरकारको साझेदारीमा नमुना घरबासको व्यवस्था गरेर स्थानान्तरण गरिने सम्पर्क व्यक्ति खनालले जानकारी दिए ।
 
प्रदेश सरकारले दिने रकम जम्मा नगरेको भए पनि जमिन कित्ताकाटको काम सकिएपछि सो रकम नगर आफैँले व्यवस्थापन गरेर भए पनि उनीहरुलाई स्थानान्तरण गरिने उनले बताए ।
 
 स्थानान्तरण पछि उनीहरुको जीवनायापनका लागि नगरपालिकाले थप व्यवस्थापनको काम गर्ने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।
 
 'उनीहरुलाई स्थान्तरण सकेपछि उनीहरुको जीवन चलाउन के काममा आबद्ध गराउने भन्ने विषयमा नगरको बैठक बसेर टुङ्गो लगाउने छौँ', उनले भने ।
 
  गाउँलेहरु हिउँदमा घरमा बसे पनि बर्खाको समयमा छिमेकी गाउँमा गएर सुत्ने गरेको वडा नं ८ का वडाध्यक्ष रसबहादुर राईले जानकारी दिए ।
 
रातका समयमा सो ठाउँका केही मानिस छिमेकी गाउँ तेतेरदाङमा गएर बस्ने, कोही पानी परेको रात रातभरि जागाराम बस्ने गरेको पूर्ववडा सदस्यसमेत रहेका विश्वलाला राईले जानकारी दिए । 'सबै पैसा जम्मा भएको सुनेको हो, अझसम्म घर दिएको छैन, खै आश्वासन मात्र दिन्छन् कि घर पनि दिने हुन्', उनले भने।