close

घरमै स्वास्थ्य सेवा दिँदै नगरपालिका

घरमै स्वास्थ्य सेवा दिँदै नगरपालिका

Trulli
ADVERTISEMENT

चितवन। कालिका नगरपालिकाले घरघरमै स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र रातो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिका लागि घरघरमा गइ स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीका अनुसार नगरभित्र रहेका पाँच सय ९८ ज्येष्ठ नागरिक तथा ५० रातो कार्ड प्राप्त नागरिक गरी छ सय ४८ जनाको प्रत्येक दुई महिनामा एक पटक स्वास्थ्य परीक्षण गरिने छ । 

मधुमेह, उच्च रक्तचाप, पिसाबमा प्रोटिनको मात्रालगायत स्वास्थ्य परीक्षण हुने भण्डारीले जानकारी दिए। उनका अनुसार परीक्षणका क्रममा अन्य समस्या देखिएमा उपचारका लागि समन्वय गर्नुका साथै आवश्यक औषधिहरु निःशुल्क वितरण गरिनेछ ।

नगरप्रमुख विनोद रेग्मीले ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा सहज बनाउने उद्देश्यले घरमै गएर सेवा दिनुका साथै थप उपचार आवश्यक परेमा नगर अस्पतालसँग समन्वय गरि उपचारको व्यवस्था गरिने बताए। उनले नीति तथा कार्यक्रममा नै यस सम्बन्धी व्यवस्था गरिएको जानकारी दिए।

उनले भने, ‘आवश्यक परेमा माथिल्लो अस्पतालमा उपचारका लागि समन्वय र सहजीकरण गर्छौं ।’ उनले ज्येष्ठ र रातो कार्ड प्राप्त नागरिकको स्वास्थ्य बीमासमेत निःशुल्क हुने बताउँदै स्वास्थ्य परीक्षण टोलीसँगै बीमा दर्ता सहयोगी घरमै जाने व्यवस्था गरिएको जानकारी दिए। 

औषधि उपचारको अभाव कसैलाई नहोस् भनेर यो अभियान सञ्चालन गरिएको नगरप्रमुख रेग्मीले बताए। उनका अनुसार नगर अस्पताललाई पनि स्तरवृद्धि गरिएको छ ।