close

संस्थागत स्वमूल्याङ्कनमा व्यास को ८७ दशमलव पाँच प्रतिशत

संस्थागत स्वमूल्याङ्कनमा व्यास को ८७ दशमलव पाँच प्रतिशत

Trulli
ADVERTISEMENT

तनहुँ । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा व्यास नगरपालिकाले ८७ दशमलव पाँच प्रतिशत प्राप्त गरेको छ । विभिन्न सूचकका आधारमा नगरपालिकाले उक्त प्रतिशत प्राप्त गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा सम्पादित कार्यक्रमलाई आधारमानी उक्त मूल्याङ्कन गरिएको हो ।

 गत आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाले ८९ प्रतिशत प्राप्त गरेको जनाइएको छ ।  नगरपालिकाले समग्र स्थितिमा ९० दशमलव ४८, प्रक्रियागत स्थितिमा ८५ दशमलव २९ र परिमाणात्मक स्थितिमा ८७ दशमलव ७८ प्रतिशत प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए। 

त्यस्तै भौतिक पूर्वाधारमा ८० दशमलव ७७, सामाजिक समावेशीकरणमा ८५, सहकार्य र समन्वयमा ३३, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८८ दशमलव ८९ प्रतिशत प्राप्त गरेको छ । 

शासकीय प्रबन्धमा ९४ दशमलव ४४, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १००, सङ्गठन तथा प्रशासनमा ८७ दशमलव पाँच, सेवा प्रवाहमा ९३ दशमलव ७५, न्यायिक कार्य सम्पादनमा १०० र वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९० दशमलव ९१ प्रतिशत प्राप्त गरेको नगरपालिकाले जनाएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन स्थानीय तहहरुको संस्थागत क्षमता मूल्याङ्कनका लागि दश विषय क्षेत्रमा तीन स्थिति विभाजन गरी उक्त नतिजा सार्वजनिक गर्ने गर्छ । स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको बारेमा लेखाजोखा गरी सबल र दुर्वल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाको बीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि बनाएको छ ।

मन्त्रालयको कार्यविधिअनुसार शासकीय प्रबन्धतर्फ नौ, सङ्घठन तथा प्रशासनतर्फ आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ११, वित्तीय एवं आर्थिक व्यवस्थापन ११, सेवा प्रवाहतर्फ १६, न्यायिक कार्य सम्पादनतर्फ सात, भौतिक पूर्वाधारतर्फ सात, सामाजिक समावेशीकरणतर्फ १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ नौ र सहकार्य र समन्वयतर्फ छ कूल भार निर्धारण गरिएको छ ।