भक्तपुर । सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको लागि लेखा तालिम सुरु भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्र सञ्चालित सामुदायिक विद्यालयहरुका शिक्षक तथा कर्मचारीहरुलाई लेखा तालिम आजबाट सुरु गरेको हो ।
तालिममा नगरप्रमुख प्रजापतिले नगरपालिकाले दिने अनुदान तथा आर्थिक सहयोगहरुको सही सदुपयोगको लागि भक्तपुर नपाले लेखासम्बन्धी तालिम सञ्चालन गरेको बताए ।
शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खानेपानी, विकास निर्माणलगायत जनताका आधारभूत आवश्यकता पूरा गर्दै भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको उनको दावी छ ।
प्रमुख प्रजापतिले सामुदायिक संस्थाहरु राम्रो र व्यवस्थित भए गरिब जनताका छोराछोरीले सहज रुपमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने तथा व्यक्तित्व विकासमा समान अवसर हुने सुनाए।
विद्यालयले राख्ने हिसाब नमिल्दा बेरुजुको समस्या देखिने भएकोले विद्यालयहरुलाई लेखासम्बन्धी कार्य सहजताको निम्ति भक्तपुर नपाले विगतका दिनदेखि नै यस्ता तालिमहरुमा जोड दिँदै आएको उनले बताए ।