हेटौंडा । काठमाडौं उपत्यकालगायत देशका विभिन्न नगरमा फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखा परेको छ । फोहोर व्यवस्थापनका लागि केहीले नीतिगत,केहीले कार्यगत प्रक्रिया अगाडि बढाएका छन् त केहीले सहज रुपमा फोहोर व्यवस्थापन गरिरहेका छन् ।
यस्तै, फोहोर व्यवस्थापन गर्नेमध्येको एक हो हेटौँडा उपमहानगरपालिका । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाका अनुसार २०६२ सालदेखि घरघरबाट फोहोर संकलन र व्यवस्थापन गर्दै आएको छ ।
ग्रिन एण्ड क्लिन सिटी प्रालिसँग सहकार्य गरेर फोहोर संकलन, सार्वजनिक स्थानमा व्यवस्थापन, नगरबासीसँग शुल्क संकलनका साथै फोहोरको पुनः प्रयोगजस्ता काम गरिरहेको उनले बताइन् ।
करिब २ लाख जनसंख्या रहेको हेटौंडा उपमहानगरपालिकाले १९ वटै वडामा पुगेर व्यवस्थापन कार्य गरिरहेको छ । मुख्य बजार क्षेत्र सरसफाइ र फोहोर व्यवस्थापनका लागि स्थायी कर्मचारीसमेत परिचालन गरेको उपमहानगरपालिकाको वातावरण शाखाकी प्रमुख शान्ता विक बताउँछिन् ।
‘बजारको सरसफाइ र बिरुवा हेरचाहका लागि स्थायी, ज्यालादारी र करार गरी दैनिक ५० जना कर्मचारी कार्यरत छन्,’ उनी भन्छिन्, ‘कुहिने र नकुहिने गरी हेटौंडाबाट दैनिक ६६ देखि ८८ टन फोहोर संकलन तथा व्यवस्थापन हुन्छ गर्ने गरिएको छ ।’
संकलित फोहोरलाई राप्ती खोला किनारको सार्वजनिक जग्गामा व्यवस्थापन गर्दै आएको छ । उनी भन्छिन्, ‘यस ल्याण्डफिल्ड साइडको व्यवस्थापनका लागि दीर्घकालीन उपायको खोजी भइरहेको छ । पछिल्लो समय फोहोरलाई वैकल्पिक ऊर्जासँग जोडेर हेटौंडालाई थप सफा र सुन्दर बनाइ आम्दानीसमेत गर्ने बाटोमा उपमहानगर लागेको छ ।’
सन् २०१४ र २०१७ मा वैज्ञानिक प्रयोगबाट फोहोर व्यवस्थापन गरेकाले नेपाल सरकारले मुलुककै सफा सहर घोषणा गरी पुरस्कृतसमेत गरेको थियो ।
संकलित फोहोरमध्ये सबैभन्दा बढी कुहिने फोहोर निस्किने बताउँदै कुहिने फोहोरलाई मल बनाइ नकुहिने फोहोर मात्र ल्याण्डफिल्ड साइडमा लग्ने गरेको ग्रिन एण्ड क्लिन सिटी प्रालिका सञ्चालक नवराज खतिवडाले बताए । प्रालिले ४५ जना कर्मचारी हेटौंडाको फोहोर व्यवस्थापनका लागि खटाइएको उनले बताए ।
मुख्यः बजारक्षेत्र सरसफाईका लागि खटाइएका कर्मचारीबाहेक सरसफाईको अन्य कामका लागि उपमहानगरले कुनै पनि रकम खर्च गर्ने गरेको छैन । सेवाको गुणस्तर, फोहोरको व्यवस्थित व्यवस्थापन, शुल्क निर्धारणलगायतबारे उपमहानगरले ध्यान दिनुपर्ने देखिन्छ । फोहोर व्यवस्थापनका लागि दीर्घकालीन उपायबारे खोजी नगर्दा राप्ती बगरको क्षेत्र वातावरणीय रुपमा प्रदूषित भएको छ ।
ल्यान्डफिल्ड साइडबाट आउने दुर्गन्ध, बेला–बेलामा हुने आगलागीबाट फैलिएको दूषित धुँवाले स्थानीयलाई असर गरिरहेको छ । दीर्घकालीन व्यवस्थापन नगर्नाले विभिन्न दुख झेल्नु ल्यान्डफिड साइडनजिकै रहेको बस्ती र मन्दिरमा समेत असर परेको स्थानीयको गुनासो छ ।