काठमाडौं । फोहोर व्यवस्थापनमा अवरोध नगर्न काठमाडौं महानगरपालिकाका प्रमुुख बालेन्द्र साहले अनुरोध गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् गतराति फोहोर व्यवस्थापनमा प्रयोग हुने सामग्री तोडफोड गरेको विषयलाई उद्धृत गर्दै उनले सो अनुरोध गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा आफू निर्वाचित भएदेखि नै फोहोर व्यवस्थापनका लागि विभिन्न तयारी गर्दै आएको बताए ।
उनले लेखेका छन्, 'वर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।'
फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो समय चलखेलका भइरहेको आरोप उनले लगाए । सञ्जालमा लेखिएको छ, 'कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।'
उनले केही व्यक्तिको स्वार्थको कारणले महानगरको फोहोर व्यवस्थापन हुन नसकेको बताएका छन् । गतराति महानगरबाट फोहोर बोकेर बन्चरेडाँडा गएका १४ टिपर ३ वटा मेसिन तोडफोड भएको थियो ।