काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका– १२ को कार्यालय राजनीतिक खिचातानीले दुई हप्तादेखि बन्द छ ।
वडा कार्यालयमा कर्मचारी राख्ने विषयमा एमाले र माओवादीबीच स्वार्थ बाँझिँदा केन्द्रका प्रतिनिधिबीच विवाद हुँदा वडा कार्यालयमा दुवै पक्षले ताला लगाएपछि वडा कार्यालय बन्द भएको हो ।
नगरपालिकाले केही दिनअघि एक सूचना जारी गर्दै करारका कर्मचारीलाई कार्यसम्पादनको आधारमा मात्रै हाजिर गराउने जनाएको थियो ।
उक्त निर्णयका आधारमा करारका कर्मचारीलाई हाजिर नगर्न भन्दै एमालेबाट निर्वाचित वडाध्यक्ष आइतुराम रोकायाले वडा कार्यालयमा ताला लगाए ।
करार कर्मचारीलाई हाजिर गर्न नदिन आफूले कार्यालयमा ताला लगाए पनि दोस्रो ताला किन लगाइएको भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ ।
वडाध्यक्षले करार कर्मचारीलाई हाजिर गर्न नदिई आफूनिकटका कर्मचारी राख्न खोजेको भन्दै कार्यालयमा पुनः माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्यले ताला लगाए ।
अघिल्लो कार्यकालमा नियुक्त भए पनि नगरपालिकाको आदेशअनुसार करार कर्मचारीलाई हाजिर गराइनुपर्ने भन्दै माओवादी केन्द्रबाट निर्वाचित वडासदस्य रुनउदीप ऐडीले कार्यालयमा अर्को ताला लगाए ।
यसअघि करारका तीन कर्मचारीले सेवा प्रवाह गरिरहेकोमा अहिले वडाध्यक्षले आफ्ना नजिकका गोर्खबहादुर नेपालीलाई सहयोगी बनाइ कार्यालयका काम गरिरहेका छन् । कार्यालयका काम कार्यालयबाट नभई वडाध्यक्षको घर र सदरमुकाम गमगढीस्थित सम्पर्क कार्यालयबाट आरोप छ ।
राजनीतिक स्वार्थका कारण दुई हप्तादेखि नागरिकले सरकारी सेवाबाट वञ्चित भएका छन् । नागरिकताको सिफारिस, योजनालगायत सामान्य सिफारिससमेत नपाएको स्थानीय आइतुसिंह कामीले बताए ।
छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले छड्के अनुगमनका क्रममा वडा नम्बर १२ को कार्यालयमा ताला लगाइएको बुधबार मात्र थाहा पाएको बताए ।
वडा कार्यालयमा ताला लगाइएको विषयमा दुवै पक्षलाई स्पष्टीकरणसहित नगरपालिकामा बोलाई छानबिन गर्ने र तत्काल ताला खुलाउन पहल गरिने उनले बताएका छन् ।