close

सेवाग्राहीलाई सहज प्रशासनिक सेवा दिएपछि देशभरकै उत्कृष्ट बन्यो कनकाई

सेवाग्राहीलाई सहज प्रशासनिक सेवा दिएपछि देशभरकै उत्कृष्ट बन्यो कनकाई

Trulli
ADVERTISEMENT

झापा–सार्वजनिक सेवा प्रवाह राज्यको दायित्व र नागरिकको अधिकारको विषय हो । सार्वजनिक सेवा चुस्तदुरुस्त हुँदा नै स्थानीय सरकारको प्रभावकारिता देखिन्छ । झापाको कनकाई नगरपालिकाले नागरिकलाई सहज ढंगले सार्वजनिक सेवा प्रवाह गर्दै आएको छ । 


झापाको कनकाई नगरपालिकामा कुनै समय सेवा प्रवाहमा नागरिकको सहभागिता न्यून थियो । पारदर्शी सेवाप्रदायक र प्रविधिमैत्री नहुँदा सरकारी सेवा लिन नागरिकले सास्ती भोगिरहेका थिए । यिनै समस्या हटाउन निर्वाचित जनप्रतिनिधिको अथक प्रयासपछि २०७८ मा कनकाई देशभरिकै उत्कृष्ट नगरपालिका घोषित भयो । जनप्रतिनिधिले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदा यो लक्ष्य हासिल हुन सकेको हो । अहिले पनि त्यो प्रतिष्ठालाई दिगो बनाउने गरी जनप्रतिनिधिले काम गरिरहेका छन् । सेवाग्राहीको कुनै पनि काम सम्पन्न नगरी सरकारी कार्यालय बन्द नगर्ने नीतिकै कारण कनकाईले प्रशंसा बटुलेको स्थानीय इन्द्रप्रसाद उप्रेती सुनाउँछन् ।

 

नगरपालिकाले नागरिकको गुनासो सुन्ने गरेको छ । सूचना प्रविधिको अधिकतम प्रयोग एवं विभिन्न माध्यमबाट विकासका गतिविधिमा सरोकारवाला पक्षसँग राय, सल्लाह लिएर मात्रै काम गर्ने गरेको छ । नगरपालिकाले प्रशासनिक सेवालाई व्यवस्थापन सूचना प्रणाली, अनलाइनबाट समेत दिन सकिने व्यवस्था गरेको छ । तथ्यांकलाई डिजिटलाइज गर्ने काम भएको छ । नगरपालिका प्रविधिमैत्री बनेर सेवा दिँदा सेवाग्राही आफ्नो काम तोकिएको समयमै सम्पन्न गरेर घर फर्कने गरेको स्थानीय खड्गप्रसाद विमली बताउँछन् ।

 

सेवाग्राहीको मात्र नभई नगरपालिका भ्रमणमा आउने अन्य जनप्रतिनिधि पनि यहाँको काम देखेर दंग पर्ने गरेको वडा नम्बर ४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलको भनाइ छ ।

 

जनप्रतिनिधिबाट नागरिकसमक्ष व्यक्त प्रतिबद्धता पूरा गर्न कर्मचारी प्रशासनको पनि उत्तिकै सहयोग छ । कर्मचारी र जनप्रतिनिधिको समन्वय हुँदा जनपेक्षाअनुसार धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण कनकाईले देखाएको छ । अहिले कनकाईका नागरिक जनप्रतिनिधिप्रति ढुक्क हुने अवस्था बनेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।

 

नागरिकले प्राप्त गर्ने सेवा गुणस्तरीय, भरपर्दो र टिकाउ हुनुपर्छ । मैत्रीपूर्ण व्यवहार र गुनासो सुनुवाइमा ध्यान दिए सेवाग्राहीको समस्या स्वतः हटेर जान्छ । सरल, सहज तथा समयमै सेवा प्राप्त गर्दा नागरिकको सार्वजनिक सेवाप्रतिको विश्वास बढ्ने उदाहरण कनकाईले प्रस्तुत गरेको पाइएको छ ।