close

अर्जुनधाराबासी नागरिकमैत्री सेवा प्रवाहबाट लाभान्वित हुँदै 

अर्जुनधाराबासी नागरिकमैत्री सेवा प्रवाहबाट लाभान्वित हुँदै 

Trulli
ADVERTISEMENT

झापा–सुशासन र पारदर्शिता एकअर्काका परिपूरक हुन् । नागरिकले प्राप्त गर्ने सेवा जति पारदर्शी हुन्छ त्यति नै नागरिकले सुशासन महशुस गर्न सक्छन् । पारदर्शी र झन्झट रहित सेवा प्रवाहबाट नै जनप्रतिनिधि नागरिकका आँखामा झनै प्रिय हुँदै जान्छन् । झापाको अर्जुनधारा नगरपालिकाले नागरिकमैत्री सेवा प्रवाह गरेर सुशासनमा सफलता पाउँदै गएको छ । 

 

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ र नियमावली, २०६५ को प्रभावकारी कार्यान्वयनबाट सुशासनको प्रत्याभूति सुनिश्चित गर्न सकिन्छ । यसको मुख्य ध्येय सार्वजनिक प्रशासन जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाउनु हो । यही ऐनलाई आफ्नो मार्गदर्शन बनाएको अर्जुनधारा नगरपालिकाले नागरिकलाई सहज सेवा र सुशासनको प्रत्याभूति दिलाइरहेको छ । नगरपालिकाले ११ वटै वडामा सिसिटिभी जडान गरेको छ । कुन वडा कार्यालयमा कतिको भीड छ भन्ने सहजै निरीक्षण गर्न सकिन्छ । नागरिकले सेवा पाए÷पाएनन् भन्ने कुराको लेखाजोखा गर्न अहिले नगरपालिकालाई सहज भएको छ । नागरिकलाई चुस्त र छिटो÷छरितो सेवा दिनुपर्छ भन्ने अठोट लिएर  कर्मचारी र जनप्रतिनिधिले काम गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले बताए ।

 

दूरदराजका नागरिकलाई प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अहिले हटेको छ । नगरपालिकाले आप्mना नागरिकलाई सहज प्रशासनिक सेवा–सुविधा दिन घुम्ती शिविरसमेत सञ्चालन गरिरहेको छ । जनप्रतिनिधि नागरिकको काम सम्पन्न गरिदिन घरदैलोमै पुग्ने गरेका छन् । सार्वजनिक सेवाका क्षेत्र जनमैत्री हुँदा त्यसको प्रत्यक्ष लाभ नागरिकले लिन थालेको नगरपालिकाको वडा नम्बर १० का वडाध्यक्ष बलदेव तामाङको भनाइ छ ।

 

ज्येष्ठ नागरिक र अपांगता भएका नगरबासीलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नागरिकले सुविस्ता महसुस गरिरहेका छन् । वडादेखि पालिकाको केन्द्रबाट सेवाग्राहीले सहज ढंगले सेवा पाइरहेको वडा नम्बर १ का वडाध्यक्ष गजाधर खतिवडाको दाबी छ ।

 

नगरपालिकाले सार्वजनिक सेवा प्रवाहबाट नागरिकको विश्वास आर्जन कसरी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेको वडा नम्बर २ का वडाध्यक्ष रघुनाथ खनाल सुनाउँछन् । 

 

निःशुल्क वा सशुल्क वा अन्य कुनै प्रकारले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उपलब्ध गराउने सेवा–सुविधाबाट सेवाग्राहीलाई सहज भएको स्थानीयद्वय लक्ष्मीप्रसाद खतिवडा र कार्तिकलाल राजवंशीको अनुभव छ । नगरपालिकाले आधुनिक सूचना प्रविधि उपयोग गर्दा नागरिकले भरपर्दो सरल र सहज सेवा पाइरहेको स्थानीय लक्ष्मीप्रसाद खतिवडाले बताए ।

 

कर्मचारीको कार्यसम्पादन निष्पक्ष र पारदर्शी ढंगले मूल्यांकन गर्ने गरिएको छ । पुरस्कार र दण्डको प्रभावकारी अवलम्बन नगरपालिकामा भएको पाइन्छ । सार्वजनिक सेवा प्रवाहमा अनुशासन र सुशासनको प्रवद्र्धन हुँदा नागरिकले पारदर्शिता र सुशासनको महसुस गरिरहेको अर्जुनधाराका नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए ।

 

सार्वजनिक सेवा प्रवाह प्रभावकारी नभएको मुलुकमा जनताले सरकारप्रति अविश्वास राख्ने गरेको पाइन्छ । तर, अहिले अवस्था फेरिएको छ । नागरिकमा सरकारप्रतिको अपनत्व बढ्दै गएको छ । जनप्रतिनिधिले जनतालाई केन्द्रमा राखेर गरेका कामले सफलता पाउँदै गएका छन् ।