close

कानेपोखरीका आवासविहीनले पाए जस्तापाताको घर 

कानेपोखरीका आवासविहीनले पाए जस्तापाताको घर 

Trulli
ADVERTISEMENT

मोरङ– संघीय सरकारले जनता आवास कार्यक्रममार्फत घरबारविहीन नागरिकका घर निर्माण योजना कार्यान्वयन गरिरहेको छ । खर एवं फुसका छाना भएका घरमा जस्तापाता लगाउने योजना पनि सँगसँगै अघि बढेको छ । स्थानीय सरकारले पनि संघीय सरकारको योजनामा भरथेग गरिरहेका छन् । मोरङको कानेपोखरी गाउँपालिकाले पनि सुरक्षित आवास निर्माणलाई प्राथमिकतामा राखेकै कारण आवासविहीन नागरिकले आफ्नै घर पाएका छन् ।


 
आवासविहीन देवचनऋषि देवलाई अहिले रातमा मीठो निद्रा लाग्छ । बर्खायाममा रातभर जाग्राम बस्नुपर्ने बाध्यता हटेको छ । पानी चुहिने, सर्पको डर पनि अहिले छैन । अहिले उनको घरमा फुस र खर हटाएर जस्तापाताको छानो हालिएको छ । पालिकाको योजनामा समेटेरै जनप्रतिनिधिले सुरक्षित आवास कार्यक्रमअन्तर्गत चुहिने घरको छानो छाइदिँदा अहिले ढुक्कसँग बस्न पाइएको कानेपोखरी गाउँपालिका वडा नम्बर २ का देवचन ऋषिदेव बताउँछन् । 

 

गाउँपालिकाले वडा नम्बर २ को थानटोलीमा ऋषिदेव समुदायलाई नै लक्षित गरेर आवास तयार पारेको छ । कुनै बेला गाउँपालिकामा फुसको छाना भएका घरको संख्या ९ सय ८२ थियो । २ सय १३ वटा घरमा मात्रै ढलानको छानो थियो । तर, अब त्यो दुरवस्था अन्त्य भएको छ । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले नागरिकका दुःखसुखमा साथ दिएर घरबारविहीनलाई पक्की घर र खरको छाना भएकालाई जस्तापाता लगाउने अभियान सफलता नजिक पुगेको छ । यो गाउँपालिकाको गौरवको योजना बनेको छ । कानेपोखरी जनता आवास कार्यक्रममार्फत गाउँपालिकाले अतिविपन्न र सीमान्तकृत समुदायका लागि अहिले पनि आवास बनाइरहेको छ । सहारा नेपालको २५ लाख र गाउँपालिकाको १८ लाख ७५ हजार गरी ४३ लाख ७५ हजार रुपैयाँ खर्च गरेर यी आवास तयार पारिएको पालिका उपाध्यक्ष राजमती ईङनाम बताउँछिन् । 

 

अहिले गाउँमा ३ सय २३ वटा घरलाई जस्तापाता वितरण गरिएको छ । यो कार्यक्रमका लागि गाउँपालिकाले ७० लाख ७६ हजार २ सय १४ रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ३ सय ३३ खरको छाना विस्थापित भएको पालिका अध्यक्ष ताराबहादुर  काफ्लेले जानकारी दिए । 

 

सुरक्षित आवासमा मात्र नभई गाउँपालिकाले सडक र खोला किनार बसोबास गर्ने भूमिहीन सुकुम्बासीलाई एकीकृत नमुना बस्ती निर्माण गरिदिएको छ । वडा नम्बर २ मा १ बिघा १ कठ्ठा १२ धुर जग्गा ५४ लाखमा खरिद गरेर विपन्न र गरिबलाई आवास बनाउन सफल भएपछि सन्तुष्टि मिलेको वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकी र पालिकाका प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ बताउँछन् ।

 

आगलागीको जोखिम उच्च हुने भएसँगै संघीय सरकारले फुसको छानो हटाउने अभियान चलायो । यो अभियानले गाउँपालिकालाई पनि राहत दियो । जनप्रतिनिधिकै सक्रियताले अहिले पालिकाभित्र खर र फुसका छाना भएकालाई जस्तापाता वितरण र आवास नभएकालाई घर निर्माण गरिएको छ । भुइँतहका नागरिकलाई सहज बसोबास गर्न सक्ने अवस्था सिर्जना गरेर दिगो विकासको लक्ष्य हासिलमा कानेपोखरीले सराहनीय काम गरेको छ ।