close

घरदैलोमै उपचार पाएपछि पनौतीबासी दङ्ग

घरदैलोमै उपचार पाएपछि पनौतीबासी दङ्ग

Trulli
ADVERTISEMENT

काभ्रे– घरदैलोमै मानसिक स्वास्थ्यको परीक्षण हुन थालेपछि काभ्रेपलाञ्चोक पनौती नगरबासी दङ्ग भएका छन् । पनौती नगरपालिकाले प्रत्येक महिना स्वास्थ्य चौकीबाट नगरभित्रका मनोरोगबाट पीडित नागरिकको निःशुल्क उपचारसहित परामर्श दिदैँआएको छ ।

 

पनौती नगरपालिका –३ मा रहेको कुशादेवी स्वास्थ्य चौकी र वडा ७ मा रहेको पनौती स्वास्थ्य चौकीबाट सेवा दिदैँआएको नगरपालिकाले जनाएको छ । पनौती नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पुरुषोत्तम तिमल्सिनाले कुशादेवी स्वास्थ्य चौकीबाट प्रत्येक महिनाको अन्तिम बिहीबार वडा १, २, ३ र ८ नम्बरका नागरिकले सेवा लिदैँआएको जानकारी दिए ।

 

त्यस्तै, पनौती स्वास्थ्य चौकीबाट प्रत्येक महिनाको दोस्रो शनिवार वडा ४, ५, ६, ७, ९, १०, ११ र १२ का नागरिकले सेवा लिदैँआएका छन् । मनोरोग पीडित नागरिकलाई मानसिक अस्पताल लगनखेलका निर्देशक एवम् मनोरोग विशेषज्ञ डा. अन्नत अधिकारीले परीक्षण र परामर्श दिदैँ आएका छन् ।

 

नगरपालिकाले मनोरोगीलाई निःशुल्क औषधी समेत दिने भएपछि सेवा लिने बढ्दैगएको स्वास्थ्य शाखाका प्रमुख तिमल्सिनाले जानकारी दिए । उनकाअनुसार प्रत्येक क्लिनिकमा १५ देखि २० प्रतिशत मानसिक रोगको परीक्षणका लागि बिरामी थपिदैँ गएका छन् । प्रत्येक क्लिनिकमा एक सय देखि १५० सम्मले सेवा लिदैँआएका छन् ।

 

१२ बर्षदेखि मनोरोगको औषधी खादैँ आएका कुशादेवीका उद्धवकृष्ण सापकोटाले गाउँघरमै मनोरोगको उपचार र परामर्श लिन पाउँदा खुशी लागेको बताए । ‘उपचारका लागि काठमाडौंसम्म जानुपर्ने बाध्यता थियो’, उनले भने, ‘नगरपालिकाले कुशादेवी स्वास्थ्य चौकीमा प्रत्येक महिनाको एक दिन विशेषज्ञ डाक्टरसहितको सेवा दिएपछि सहज भएको छ ।’

 

मानसिक अस्पताल लगनखेलका निर्देशक एवम् मनोरोग विशेषज्ञ डा. अन्नत अधिकारी मानसिक रोगको समयमै निदान गर्न नसकिए विकराल रुप लिने बताए । मानसिक रोगीलाई अहिले पनि समाजमा हेयको दृष्टिले हेर्ने गरिएको उनको बुझाई छ ।

 

पनौती नगरपालिकाले घरदैलोमै दिएको सेवाले मानिसक रोगी परीक्षणका लागि आउनेक्रम बढ्नु सकारात्म भएको उनले बताए । उनकाअनुसार आत्महत्याको ८५ प्रतिशत कारण मानसिक रोग हो । जिल्लाको बढी आत्महत्याका घट्ना हुनेमा पनौती नगरपालिका रहेको प्रहरीको तथ्याङ्कमा छ । २०७७ माघ २६ गतेबाट सुरु भएको मानसिक स्वास्थ्य क्लिनिक पछि आत्महत्याको घट्नामा कमी आएको पनौती नगरपालिकाले जनाएको छ ।