close

हरिवन नगरपालिकामा कोरोनाविरुद्धको खोप लगाउन घरदैलोमै स्वास्थ्यकर्मी

हरिवन नगरपालिकामा कोरोनाविरुद्धको खोप लगाउन घरदैलोमै स्वास्थ्यकर्मी

Trulli
ADVERTISEMENT

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका नगरवासीलाई खोप लगाउन घरमै स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । खोपबाट कोही पनि बञ्चित नहोउन् भन्ने उद्देश्यले घरमै स्वास्थ्यकर्मी पठाएर धमाधम खोप लगाउनेक्रम चलिरहेको हरिवन नगरपालिकाको कोभिड फोकल पर्सन तथा स्वास्थ्य शाखाका सहसंयोजक रामबाबु चौधरीले जानकारी दिए । घरमै पुगेर खोप लगाउन सासापुर स्वास्थ्य चौकी, घुर्कौली स्वास्थ्य चौकी र अत्रौली स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरु परिचालन गरिएका छन् ।

 

माघ ८ गतेबाट सुरु भएको घरदैलो अभियान अन्तर्गत माघ १२ गतेसम्ममा एक हजार १८९ जनालाई घरमै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको कोभिड फोकल पर्सन चौधरीले बताए । नगरपालिकाभित्रका चारवटा स्वास्थ्य चौकीमध्ये तीन वटाले धमाधम घरदैलो कार्यक्रम गरिरहेको र बाँकी रहेको हरिवन स्वास्थ्य चौकीले पनि  अभियान सुरु गर्ने जानकारी दिए ।

 

हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार हरिवनको वडा ४ पूर्ण खोपमुक्त भइसकेको अर्थात त्यहाँका सबै वडावासीले खोप लगाइसकेका छन् । अहिले वडा १, २, ३, ६ र ७ मा खोप लगाउन स्वास्थ्यकर्मी परिचालन भएका छन् ।

 

त्यसैगरी वडा ८, ९ र १० मा घरदैलो गरेर विवरण सङ्कलन गरी छुटेकालाई खोप लगाउन वडा ९ को दनुवारी टोलमा बिहीबार वडाध्यक्ष सीताराम पोखरेलको नेतृत्वमा छलफल गरिएको छ । हरिवन नगरपालिकामा अहिलेसम्म २३ हजार ८६३ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप र ३४ हजार ४२० जनाले पहिलो मात्रा खोप लगाएका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

 

हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले टोलमा माइकिङ गरेर खोपबाट बञ्चित भइरहेकालाई घरदैलोमै पुगेर खोप लगाउने काम भइरहेको बताए । ब्यस्तताका कारण तथा शारीरिक रुपमा कमजोर रहेका व्यक्तिलाई घरदैलो कार्यक्रम गरेर खोप लगाउने काम भइरहेको नगरप्रमुख प्रसाईले बताए ।