काभ्रे–जाडोयाम सुरु भएसँगै काभ्रेको नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि ज्येष्ठ नागरिकका लागि सिरक बोकेरै घर–घरमा पुग्न थालेका छन् । नमोबुद्ध नगरपालिका वडा नम्बर १० को संयोजनमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत उक्त वडामा रहेका ज्येष्ठ नागरिकका लागि घरघरमै पुगेर न्याना सिरक र हट ब्याग वितरण गर्न थालिएको हो ।
बुधबार नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले वडाका ज्येष्ठ नागरिकलाई सिरक र हट ब्याग वितरण गर्दै कार्यक्रमको सुरुआत गरे । नगर प्रमुख तिमल्सिनाले ज्येष्ठ नागरिकसँग आशीर्वाद लिन आफूहरू घरघर आइपुगेको बताए । ‘हामीले सहयोग दिनेभन्दा पनि यहाँहरूबाट आशीर्वाद लिने उद्देश्यले यहाँ आएका हौँ,’ तिमल्सिनाले भने ।
नगरपालिकाले विगतका वर्षदेखि नै ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने तिमल्सिनाले बताए । ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई लिँदै समृद्ध नगरको निर्माणमा आफूहरू लागिपरेको उनको भनाइ छ । सबै वडामा वडा कार्यालय र स्वास्थ्य संस्थाको भवन निर्माण गरेको तथा सडक निर्माणलाई तीव्रता दिइएको उनले बताए ।
कार्यक्रममा नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले वृद्धवृद्धाको सम्मानका लागि नगरपालिकाले सानै भए पनि सहयोग गरिरहेको जानकारी दिए ।
जेष्ठ नागरिकलाई आँखाको अप्रेसनका लागि रेयुकाई आँखा अस्पतालसँग सहकार्य गरी निःशुल्क शल्यक्रियाको अभियान सञ्चालन गरिरहेको उनले बताए । अहिले आफूहरूले भोगिरहेको सुखसयलमा अघिल्लो पुस्ताको योगदान रहेकाले त्यसको कदर र सम्मानका लागि घरघर पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरिएको पौडेलले जनाए ।
अहिलेको पुस्ताले आफूभन्दा अघिल्लो पुस्ताको सम्मान गरे मात्रै पछिल्लो पुस्ताबाट सम्मान पाउन सक्ने पौडेलको भनाइ छ । नमोबुद्ध नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले जाडो मौसम सुरु भएकाले सम्मानस्वरूप न्यानो वितरणको अभियानमा लागेको बताए । आफू वडाध्यक्षमा निर्वाचित हुनुभन्दा अगाडिदेखि नै ज्येष्ठ नागरिकको सम्मानका लागि लागिपरेको स्मरण गर्दै अधिकारीले आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
ज्येष्ठ नागरिकको सम्मानकै लागि वडा कार्यालयबाट सक्दो बजेट व्यवस्थापन गरिएको र त्यो पर्याप्त हुन नसके पनि प्रभावकारी रूपमा त्यसलाई परिचालन गर्ने कोसिस गरिएको अधिकारीको भनाइ छ ।
नमोबुद्ध नगरपालिका वडा नम्बर १० ले वडाबाट सामाजिक सुरक्षा भत्ता पाउने ३०१ जना ज्येष्ठ नागरिक तथा एकल महिलालाई सिरक र हट ब्याग वितरण गर्ने लक्ष्य लिइएको छ । बुधबार र बिहीबार गरी वडाका सबै टोलमा पुगेर कार्यक्रम सम्पन्न गर्ने वडा सचिव वीरेन्द्र रावलले जानकारी दिए । कार्यक्रममा नगरपालिकाले गरेको सम्मानबाट आफूहरू निकै खुसी भएको जेष्ठ नागरिकले बताए ।
वडा र नगरकै पहलमा आफूहरूको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको कतिपय जेष्ठ नागरिकको भनाइ छ । नमोबुद्ध नगरपालिकाले प्रत्येक वर्षको बजेटबाटै सबै वडामा ज्येष्ठ नागरिकका लागि सम्मान कार्यक्रम गर्दै आएको छ । नगरपालिकाले सबै वडामा वृद्धवृद्धा भेटघाट चौतारीसमेत निर्माण गरेको छ ।