काठमाडौं– ललितपुर महानगरको वडा नम्बर ३ ले आफ्ना वडाभित्रका नागरिकलाई निःशुल्क विद्युत् यातायात सुविधा दिन सुरु गरेको छ । वडाले सञ्चालन गरेको विद्युतीय सवारीमा चढ्न भने जोसुकैले पाउँदैनन् । वडाबासीले मात्रै यसका हकदार हुन् ।
आफ्ना वडाबासी पहिचान गर्न वडा कार्यालयले सबैलाई परिचयपत्रसमेत बाँडेको वडाध्यक्ष श्रीगोपाल महर्जनले बताए । ‘हामीले नागरिकलाई सेवा दिन विद्युतीय सवारी सञ्चालन गरेका हौँ,’ उनले भने, ‘यसका लागि वडाले बाँडेको परिचयपत्र देखाएर मात्रै बस चढ्न पाइन्छ । यो परिचयपत्र वडा समितिले बैठक बसेर बाँडेका हौँ ।’
सुरुमा ज्येष्ठ नागरिकको सुविधाको लागि मात्रै यो सवारी ल्याए पनि अहिले कार्ड भएका सबैले चढ्न पाउने उनको भनाइ छ । उक्त सवारी वडा कार्यालयले आफ्नै खर्चमा किनेर सञ्चालन गरेको वडाध्यक्ष महर्जनले बताए । सवारी चालक पनि वडा कार्यालय आफैंले राखेको छ । यसमा एक पटकमा ८ जनासम्म यात्रु चढ्न मिल्छ ।
एउटा मात्रै सवारी सुरु गरे पनि वडाका नागरिकलाई सेवा दिन पुग्ने उनको दाबी छ । ‘एउटा सवारी भए पनि वडाभरका नागरिकलाई सेवा दिन पुगेको छ,’ उनले भने, ‘आगामी दिनमा सवारी थप्न सकिन्छ ।’
वडाभित्र डेरामा बस्ने नागरिकले भने अहिले यो सवारीको सेवा लिन पाएका छैनन् । तर, घरबेटीले आफ्नो घरको डेरामा बस्ने सबैको संख्या र नाम दिएपछि उनीहरूलाई पनि यो सेवा दिइने उनको भनाइ छ ।
वडा कार्यालयले सञ्चालन गरेको सवारी अहिले वडा अफिसबाट नगरपालिका, नगरपालिकादेखि पाटनढोका, पाटनढोकादेखि कृष्ण गल्ली, बखुन्डोल, झम्सीखेल, रिङरोड हुँदै वडाभर घुम्ने गरेको वडाध्यक्ष महर्जनले बताए ।
उनका अनुसार वडाले परिचयपत्र बाँडेर आफ्ना वडाबासीलाई निःशुल्क शव वाहनसहितका अन्य सेवा पनि दिइरहेको छ । शव वाहन सेवा लिएबापत नगरले थप २ हजार रुपैयाँ दिने गरेको छ । उनीहरूले सेवा लिएर वडामा मृत्यु दर्ता समयैम गराउन प्रोत्साहन दिन यसो गरिएको वडाध्यक्ष महर्जनले जानकारी दिए ।