close

डिजिटल सिटीको बाटो पछ्याउँदै बुटवल उपमहानगर 

डिजिटल सिटीको बाटो पछ्याउँदै बुटवल उपमहानगर 

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवल उपमहानगर वडा नम्बर ११ का अजितकुमार अधिकारीलाई सम्झिन्छन्, ३ वर्षअघि घर वहाल कर बुझाउन उपमहानगर कार्यालय आउँदा लामो लाइन देखेर फर्किए ।

 

भोलिपल्ट बिहानै आउँदा पनि लाइनमै परे । त्यस दिनको लम्बेतान लाइनपछि बल्लतल्ल उनले कर बुझाउन पाए ।
 
तर, अहिले अधिकारीलाई घर वहाल कर बुझाउनुुपर्यो भने लाइनमा बस्नु त परै जाओस्, उपमहानगरको कार्यालयसम्म आउनुपर्दैन । कहिलेकाहीँ इन्टरनेटले काम गरेन भने मात्रै कार्यालय पुग्नुपर्नेबाहेक अरू बाध्यता छैन ।

 

राजस्व तिर्ने सेवाग्राहीलाई घरै बसीबसी आनलाइनबाट तिर्न मिल्ने बनाइदिएपछि अहिले अधिकारीजस्ता करदातालाई निकै लाभ मिलेको छ । 

 

राजस्व तिर्न लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न उपमहानगरले अनलाइन विधि अपनाएको हो । उप–महानगरपालिका र यसअन्तर्गतका १९ वटै वडामार्फत अनलाइन प्रणालीबाट रावस्व संकलन सुरु गरिएको हो । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिनेछ । 

 

बुटवल उप–महानगरले डिजिटल सिटीको बाटोमा महत्त्वपूर्ण कदम चालेको छ । सूचना प्रणालीलाई अझ व्यस्थित र प्रभावकारी बनाउँदै उपमहानगरले डिजिटाइजेसनको अवधारणालाई साकार बनाइरहेको छ । 

 

नागरिकका दैलामा रहेका स्थानीय सरकारबाट प्राप्त सेवाको कागजी प्रक्रिया निकै झन्झटिला र लम्बेतान हुने भएकाले सेवा लिन नागरिकलाई जटिल हुने गरेको छ । बुटवलमा अद्यापि त्यस्ता समस्या रहे पनि सेवा प्रवाहलाई प्रविधियुक्त र अझ व्यवस्थित बनाउने पहल गरिएको उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए ।

 

करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकीकृत सम्पत्ति कर, घर वहाल कर, अन्य व्यवसाय कर, सरसफाइ सेवाशुल्क, अचल सम्पत्ति मूल्यांकन शुल्क, नक्सा पास दस्तुर, ठेक्कापट्टा नवीकरणलगायत राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाइएको प्रमुख सुवेदीले जानकारी दिए । 

 

बुटवल उपमहानगरले सुरु गरेको डिजिटल प्रविधिको यस्तो नौलो व्यवस्थाको उद्घाटन पनि संघीय सरकारका अर्थमन्त्री तथा यस क्षेत्रका निर्वाचित सांसद विष्णुप्रसाद पौडेल आफैंले गरेका थिए । 

 

‘कर तिर्न लाइन बस्नैपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाता अझै प्रोत्साहित हुने भएकाले राजस्वलगायतका सूचना प्रणालीका कामलाई डिजिटल प्रणालीबाट सुरु गरेका हौँ’, उपमहानगर प्रमुख सुवेदीले भने । 

 

डिजिटल प्रविधिको कारोबारलाई थप व्यवस्थित र विश्वसनीय बनाउँदै समुदायमा वित्तीय साक्षरताको विकास गर्न आर्थिक वर्ष २०७८÷७९ मा कार्यक्रम तय गरिएको उनको भनाइ छ । 

 

उनले भने, ‘बुटवल आर्थिक केन्द्रसमेत रहेकाले आर्थिक गतिविधिलाई डिजिटल बनाउँदै सेवाग्राहीलाई सहज सेवा प्रवाह उपलब्ध गराउन प्रतिबद्ध छौँ । डिजिटल बुटवलको सपना साकार पार्न हामी तत्पर भएर लागिरहेका छौँ ।’

 

उपमहानगरलाई सेवा केन्द्रका रूपमा विकास गरेर व्यवस्थित अभिलेखीकरण र सूचना प्रणालीबाटै योजना तर्जुमा गर्न सहज हुने भएकाले प्रविधिलाई प्राथमिकतामा राखिएको उनले बताए । 

 

हरेक घरको आफ्नै डिजिटल ठेगाना

 

बुटवलले अहिले ‘डिजिटल बुटवल’ अभियान थालेको छ । अभियानअन्तर्गत बुटवलमा काठमाडौं उपत्यकापछि पहिलो पटक इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबीपीएस) मा काम भइरहेको छ ।

 

त्यससँगै यहाँका करिब ४० हजार घरमा डिजिटल हाउस नम्बरिङ गरिएको छ भने थप घरमा जडान गरिँदै छ । जीपीएस र जीआइएस प्रविधिमा आधारित डिजिटल सिस्टममा यहाँका सबै घर समेटिँदै छन् ।

 

‘मेट्रिक्स एड्रेसिङ सिस्टम’ बाट नम्बरिङ गरिएको घरमा नम्बर प्लेट टाँस्ने काम गरेको थियो । यसले बुटवलका हरेक घरलाई ठेगाना सुनिश्चित गरेको छ । 

 

बुटवलले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआइएसका आधारमा घर नम्बरिङ गरेपछि विवरण अद्यावधिकसमेत गरिरहेको छ । विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गर्दै पूरा भएका घरमा नम्बर टाँस्ने काम प्रमुख सुवेदीले सुरु गरेका थिए । 

 

सेवाग्राहीलाई प्रवाह गरिने सेवा, उपमहानगरका सेवा केन्द्र, सार्वजनिक क्षेत्र, सडक, विद्यालदेखि वन क्षेत्र र ती स्थानदेखि आफ्नो घर कहाँनिर पर्छ भनेर हेर्न मिल्ने गरी ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’ बाट नम्बरिङ गरिएको हो । 

 

भौगोलिक अध्ययनका विज्ञ सम्मिलित परामर्शदाता छनोट गर्दै सबै वडाका सबै घरको ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’ बाट नम्बरिङ पूरा गर्ने लक्ष्य उपमहानगरको छ ।
उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ भएको र कर पनि वडा कार्यालयबाटै तिर्ने व्यवस्था मिलाइएको बताए ।

 

डिजिटल नम्बरिङपछि वारुण यन्त्र, एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका काममा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्ने गरी भौगोलिक सूचना प्रणालीको विकास गरिएको उपमहानगरले जनाएको छ । 

 

झन्डै १ लाख तथ्यांक डिजिटाइजेसन

 

उपमहानगरका वडाहरूमा दर्ता गरेर रजिस्ट्ररमा राखिएका र झुत्रे भएका कागजातलाई नयाँ सफ्टवेयरमार्फत डिजिटाइजेसन गरिएको छ ।

 

यस्ता करिब १ लाख तथ्यांकलाई पछिल्लो केही अवधिमै व्यवस्थित सूचना प्रणालीमा समावेश गरिएको उपमहानगरको सूचना प्रविधिमा काम गरिरहेका अपरेटर नारायण अर्यालले जानकारी दिए । उपमहानगरका १९ वटै वडाका जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्तालगायत व्यक्तिगत घटनाका सबै विवरण अब अनलाइनमा राखिएको छ । 

 

अनलाइनबाटै घर नक्सा 

 

बुटवल उपमहानगरपालिकाले अहिले इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टममा भवनको विवरणलाई अनलाइनमार्फत व्यवस्थित गरिरहेको छ । घना सहरको रूपमा विकास हुँदै गरेको बुटवलका लागि यो निकै प्रभावकारी हुने विश्वास उपमहानगरको छ । 

 

गत वर्ष १ वैशाखदेखि सुरु गरिएको यो प्रणालीअन्तर्गत हालसम्म झन्डै ३ हजार नक्सा दर्ता भएको छ भने करिब २ हजार जनाले सम्पन्न प्रमाणपत्र लिइसकेको उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए ।

 

बुटवल उपमहानगरले भवन संहिताको पूर्ण कार्यान्वयन गर्दै घरनक्सा पाससम्बन्धी विशेष जानकारी पुस्तिकासहितको टाइम कार्डसमेत लागू गरेको छ ।

 

विद्यालयको नतिजा अनलाइनमै 

 

नगरभित्रका विद्यालयले निकाल्ने विद्यार्थीको नतिजा नगरपालिकामा पठाउन व्यवस्थित तथ्यांक प्रणालीको प्रयोग भएको छ । संघीय सरकारको शिक्षा मन्त्रालयको सहयोगमा सञ्चालन गरिएको उक्त सफ्टवेयरमार्फत हरेक विद्यालयले विद्यार्थीको नतिजा उपमहानगरमा पठाउन सक्छन् । 

 

उपमहानगरले विद्यालयलाई प्रदान गरेको ‘क्रेडेन्सियल’ मार्फत हरेक तिनले विद्यार्थीको नतिजा उपमहानगरलाई पठाउन सक्छन् । 

 

टोल–टोलमा प्रविधि सिकाइँदै

 

डिजिटल नगरतर्फ छलाङ मार्दैै गरेको बुटवलले सेवाप्रवाही र सेवाग्राहीलाई ‘डिजिटल बुटवल’को अभियानमा जोडिन विभिन्न किसिमका तालिम प्रदान गरेको छ ।बुटवल उपमहानगरले डिजिटल सिटीको अवधारणा साकार पार्ने उद्देश्यले उपमहानगरका सबै टोल विकास संस्थालाई विद्युतीय भुक्तानी चलाउनेबारे सिकाइरहेको छ । 

 

टोल विकास संस्थालाई अभिमुखीकृत गरी प्रविधिमैत्री सेवा प्रवाहलाई तीव्र बनाउने लक्ष्य उपमहानगरको छ ।

 

बुटवलका करिब ४ सय टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यलाई पालैपालो प्रविधिबारे सिकाउन लागिएको उपप्रमुख तथा योजना अनुगमन समिति संयोजक गुमादेवी आचार्यले जानकारी दिइन् । विद्युतीय भुक्तानीसहितको मोबाइल एप र नयाँ प्रविधिबारे टोल–टोलमा विशेष प्रशिक्षण चलाइने उनले बताइन् ।