close

कोरोना संक्रमितलाई पोषणयुक्त खाना र स्वास्थ्यकर्मीलाई प्रोत्साहन रकम दिँदै सिरिजंघा

कोरोना संक्रमितलाई पोषणयुक्त खाना र स्वास्थ्यकर्मीलाई प्रोत्साहन रकम दिँदै सिरिजंघा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले पालिका मातहतका १० वटै स्वास्थ्य संस्थाहरूमा फिबर क्लिनिक सञ्चालन गर्ने र ती क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीलाई मासिक १५ हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएको छ ।


सामुदायिक स्वास्थ्य केन्द्र सिकैचाको ओसे र खाम्दिम्बेमा समेत फिबर क्लिनिक सञ्चालन गर्ने तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई मासिक ५ हजार रुपैयाँ प्रोत्साहन उक्त रकम दिने निर्णय गाउँ कार्यपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।

 

यस्तै, गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा सञ्चालित ५ शय्याको कोभिड अस्पताल खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, एम्बुलेन्स चालकलाई मासिक तलबको सुरु स्केलको ५० प्रतिशत रकम प्रोत्साहनस्वरूप उपलब्ध गराउने भएको छ । 

 

गाउँ कार्यपालिकाको बैठकले कोभिड संक्रमण भई उपचारको क्रममा निधन भएका पालिकाभित्रका नागरिकलाइ शव अन्त्येष्टि खर्चबापत जनही २० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । 

 

पालिकाको केन्द्र तेल्लोकको अस्थायी कोभिड अस्पतालमा उपचार हुन नसकी अन्यत्रका कोभिड अस्पतालमा प्रेषण गर्नुपर्ने बिरामीलाई गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा वा सो नभए निःशुल्क यातायात सेवा उपलब्ध गराउनेछ ।

 

पालिकाको एम्बुलेन्स मर्मत गर्नुपर्ने अवस्था भएकाले एम्बुलेन्सको रूपमा प्रयोग गर्ने गरी पालिकाले आफ्नै खर्चबाट १ थान सवारी साधन भाडामा लिनेछ ।


होम आइसोलेसनमा बसेका कोभिड संक्रमित बिरामीलाई सिरिजंघाले प्रतिव्यक्ति २ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ । पालिका केन्द्र तेल्लोकस्थित अस्थायी कोभिड केन्द्रमा भर्ना भएका कोभिड संक्रमित बिरामीलाई खाना तथा खर्चको व्यवस्थापन गाउँपालिकाले गर्ने भएको हो ।

 

पालिकामा कार्यरत कोभिड-१९ संक्रमित स्वास्थ्यकर्मी एवं कर्मचारीलाई आइसोलेसनमा अलग्गै राख्न पालिका केन्द्र तेल्लोकमा एउटा छुट्टै घर भाडामा लिने निर्णय पनि गाउँपालिकाले गरेको छ ।

 

यस्तै, कोभिड-१९ संक्रमणको स्क्रिनिङ गर्न स्वास्थ्यकर्मीको टोली आवश्यकताअनुसार वडा–वडामा खटाउने एवं उक्त कार्यमा खटिने प्राथमिक स्वास्थ्य केन्द्र, तेल्लोकका ल्याब असिस्टेन्ट र १ जना स्वास्थ्यकर्मीलाई दैनिक भत्ता तथा भ्रमण खर्चका अलावा प्रोत्साहनस्वरूप खाजा तथा खाना खर्चबापत दैनिक ५ सय रुपैयाँ थप रकम उपलब्ध गराउने निर्णयसमेत गाउँपालिकाले गरेको छ ।

 

कोभिड संक्रमित बिरामीको एक्स-रे गर्न खटिने रेडियोग्राफरलाई ५ सय रुपैयाँका दरले प्रोत्साहन रकम दिने निर्णय गरेको गाउँपालिकाले पालिका केन्द्रमा रहेको अस्थायी कोभिड अस्पतालमा कोभिड-१९ का बिरामीको उपचारमा प्रत्यक्ष खटिने चिकित्सक १ जना, पारामेडिक्स १ जना, नर्सिङ १ जना र कार्यालय सहयोगी १ जनालाई दैनिक १ हजार ५ सय रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउनेछ ।

 

पालिकाले पालिका मातहतका १० वटै स्वास्थ्य संस्थाहरूमा बिरामीको ब्लड प्रेसर, अक्सिजनको मात्रा र पल्सको दर हेर्न उपयोगी हुने बिआइपीस भाइटल मनिटर खरिद गर्नेछ भने तेल्लोकस्थित अस्थायी कोभिड अस्पतालमा चौबीसै घन्टा विद्युत् आपूर्तिको सहज व्यवस्थापनका लागि १० केभिए क्षमताको जेनेरेटरसमेत खरिद गर्नेछ ।