काठमाडौं- काठमाडौँ महानगरले ५ दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले जेठ १४ गतेदेखि परीक्षण गर्न लागेको हो ।
हरेक दिन १० ठाउँबाट पाँच दिनसम्म जोखिम रहेका सबै वडामा एन्टिजेन विधिबाट नुमना संकलन गरिने महानगरले जनाएको छ । महानगरका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण गर्ने योजना बनाइएको हो ।’
परीक्षणबाट पोजेटिभ देखिएका विरामीलाई थप परीक्षण र आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्याउँदै लगिनेछ । नयाँ भेरियन्टको कोभिड-१९ बाट संक्रमित बढ्न थालेपछि महानगरले सम्पर्क चक्र टुटाउन प्रयास गरिरहेको हो ।
कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षण गर्न लागिएको महानगरले जनाएको छ ।