close

संक्रमित पहिचान गर्न टोल-टोल पुग्दै तानसेन 

संक्रमित पहिचान गर्न टोल-टोल पुग्दै तानसेन 

Trulli
ADVERTISEMENT

पाल्पा- तानसेन नगरपालिकाले हालसम्म कोरोना संक्रमण नियन्त्रणका लागि गरेको कामबारे जानकारी गराएको छ । संक्षिप्त पत्रकार सम्मेलन आयोजना गरी नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि हालसम्म भए-गरेका प्रगतिबारे जानकारी गराएको हो ।

 

तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन, बेड थप्ने योजना, अक्सिजन आपूर्तिको अवस्था, कोरोना प्रभावितलाई ल्याउन लागिएको राहतबारे जानकारी दिए । नगरप्रमुख शाहीले नगरभित्र तीव्र रूपमा फैलिएको कोरोना संक्रमणलाई कम गर्न टोल-टोलमा परीक्षणको दायरा बढाउँदै लगिने बताए ।

 

नगरपालिकाले निःशुल्क रूपमा कोरोना संक्रमितको यातायात सुविधाका लागि गाडीको सुविधासमेत उपलब्ध गराएको छ । नगर सरकारले कोरोनाबाट प्रभावित भई रोजगारी गुमाएकालाई कोभिड पोस्ट कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख शाहीको भनाइ छ । कार्यक्रमबाट उद्यमशीलताको प्रवद्र्धन गरी कोभिडबाट ज्यान गुमाएका परिवारका सदस्यलाई प्राथमिकतासमेत दिइनेछ ।

 

‘पछिल्लो समय देखापरेको अक्सिजन अभाव आपूर्तिको समस्यालाई हल गर्न अग्रिम अक्सिजन बुकिङ भएकाले नगरपालिकाले अक्सिजनयुक्त आइसोलेसन थप्दै छ’, शाहीले भने ।


भविष्यमा देखापर्ने भनिएको कोरोनाको तेस्रो भेरियन्टलाई समेत दृष्टिगत गरी नगरपालिकाले छुट्टै कोभिड अस्पतालसमेत निर्माण गर्न लागेको नगरप्रमुख शाहीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

आइसोलेसन सञ्चालनका लागि देखा परेको स्वास्थ्यकर्मी अभाव समाधान गर्न स्वास्थ्यकर्मी थप गर्ने योजनामा समेत नगरपालिका रहेको छ ।

 

तानसेन नगर सरकारले आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्तास्वरूप तलबको शतप्रतिशत जोखिम भत्ता दिने निर्णयसमेत दिने भएको छ ।

 

यस्तै, नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तलबको ३० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने नगरप्रमुख शाहीले बताए ।

 

नगरभित्रका विद्यालयले परीक्षा सञ्चालन गर्ने विषयमा शिक्षा समितिमा अनलाइन परीक्षाको चर्चा चलाइए पनि निर्णयमा नपुगेका कारण नगरपालिका थप छलफलमा जुटेको प्रमुख शाहीले जानकारी दिए ।

 

बजार बसेर पढेका विद्यार्थी गाउँघर फर्केका, गाउँघरमा इन्टरनेट, बिजुली समस्या रहेकाले परीक्षा सञ्चालन गर्नु उचित नहुने पत्रकारले नगरप्रमुखलाई सुझाएका थिए ।  पत्रकार सम्मेलनमा नगरप्रमुख शाही, उपप्रमुख लक्ष्मी पाठक, प्रवक्ता दामोदर घिमिरे,पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायततको सहभागिता थियो ।  कार्यक्रम तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईको सञ्चालनमा भएको थियो ।