कैलाली- कोरोना संक्रमितहरुको संख्या बढीरहेका बेला संक्रमितको उपभारका लागि गौरीगंगा नगरपालिकाले आफ्नै कोभिड अस्पताल सञ्चालन गरेर कोभिड संक्रमितहरुको उपचार गरिरहेको छ ।
कोभिड-१९ को दोश्रो लहर बढ्न शुरु भएको लगत्तै नगरपालिकाले चौमाला प्राथमिक स्वास्थ्य केन्द्र नजीकै अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको हो ।
अस्पतालमा पालिकाका कोरोना संक्रमितहरुको उपचार गर्ने गरिएको गौरीगंगा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक इश्वरी प्रसाद भुषालले पालिका खबरलाई बताए ।
चौमालमा स्वास्थ्य केन्द्रको नजीकै रहेको खाली भवनको मर्मत गरेर नगरपालिकाले कोभिड अस्थायी अस्पताल सञ्चालन गरेको हो । अस्पतालमा एक जना चिकित्सकको पनि नगरपालिकाले व्यवस्था गरेको छ ।
अस्पतालमा ४ वटा अकिसजन कन्सन्ट्रेटर र १० वटा अक्सिजन सिलिण्डरकोसमेत व्यवस्था गरिएको छ । अस्थायी कोभिड अस्पतालमा ठाउँ नपुगेमा इमरजेन्सी प्रयोगका लागि स्वास्थ्य चौकीका क्वाटरहरु खाली अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ ।
अहिलेसम्म अस्थायी कोभिड अस्पतालमा उपचार गरेर १० महिला र १७ पुरुगा गरि २७ जना निको भएर फर्किसकेका छन् भने ४ महिला र १४ पुरुषको उपचार भैरहेको छ । अस्थायी कोभिड अस्पतालको सञ्चालनले संक्रमित पालिकाकबासीलाई टाढा जानु पर्ने बाद्धयताकोसमेत अन्त्य भएको छ ।