मोरङ(भुटाहा)- कोरोना संक्रमित दिनहुँ बढ्न थालेपछि उपचारमा सहज पुर्याउने उद्देश्यले हरिनगर गाउँपालिकाले आफ्ना पालिकासहित थप दुई छिमेकी गाउँपालिकामा भएका कोरोना संक्रमितलाई गाउँमै उपचार गर्ने भएको छ । चिकित्सकसहित स्वास्थ्यकर्मीले कोरोना संक्रमितको गाउँपालिकामै उपचार सेवा दिन थालेका हुन् ।
हरिनगर गाउँपालिका वडा नम्बर १ स्थित भुटाहामा रहेको भुटाहा जनरल हस्पिटलमा कोभिड अस्पताल सञ्चालन गरी ५० शय्याको अक्सिजनसहितको आइसोलेसन कक्ष तयार गरी कोरोना संक्रमितको उपचार सुरु गरिएको गाउँपालिका अध्यक्ष गफार अन्सारीले बताए ।
गाउँपालिकामै कोरोना संक्रमितको उपचार गर्ने जिल्लामा हरिनगर पहिलो पालिका भएको अध्यक्ष अन्सारीको जिकिर छ । उनका अनुसार आइसोलेसनसमेत ५० शय्यामा अक्सिजनसहितको व्यवस्था छ ।
गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पतालबाट कोरोना संक्रमितको उपचार सुरु भएको पालिकामा कार्यरत चिकित्सक डा. रिजमान अन्सारीले बताए ।
उनले भने, ‘पालिकाको निर्णयअनुसार हामीले ५० शय्यासहित अक्सिजनको व्यवस्था गरी कोरोना संक्रमितको उपचार सुरु गरेका छौँ । कोरोना लागिहाले उपचार नपाएर मर्ने चिन्ता केही हदसम्म अन्त्य भएको छ ।’
यसअघि उक्त गाउँपालिकामा कोरोना संक्रमितलाई उपचारका लागि सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विराटनगरको कोसी अस्पताल र अन्य निजी अस्पतालमा लैजानुपर्ने अवस्था थियो ।
गाउँमै कोरोना संक्रमितको उपचार गरिन थालेपछि संक्रमितलाई जिल्लाबाहिर लैजानुपर्ने समस्या हटेको हरिनगर वडा नम्बर १ का समिम अन्सारी बताउँछन् । अस्पतालले कोरोना संक्रमितको उपचार सुरु गरेपछि संक्रमित बढ्दै गए अक्सिजन अभाव हुने चिन्ता थपिएको डा. अन्सारीले जानकारी दिए ।
पालिकाले सञ्चालनमा ल्याएको उक्त कोभिड अस्पतालमा अहिले १ चिकित्सक, मेडिकल अधिकृत, १ हेल्थ असिसटेन्ट, १ अनमी, १ सीएमए र १ जना कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा ३ जना कोरोना संक्रमित रहेकामा २ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । २ जनाको कोभिड अस्पतालमा उपचार भइरहेको छ ।