रुकुम पूर्व- रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ६ महतमा हरेक साताको शनिबार सरसफाइ गरिने भएको छ । सबै टोललाई स्वच्छ तथा सुन्दर राख्न हरेक शनिबार महतबासीले गाउँ सरसफाइ गरिरहेका हुन् ।
५ वैशाखमा बसेको महत गाउँका क्रियाशील विभिन्न संस्था, समूह, समितिको संयुक्त बैठकले सरसफाइ तथा फोहोर विसर्जनसम्बन्धी निर्णय गरेको छ ।
उक्त निर्णयअनुसार महत गाउँका टोलबासीले आ-आफ्नो घरआँगनमा दैनिक र टोल तथा सार्वजनिक स्थानमा हरेक शनिबार सरसफाइ गर्न थालेको वडाध्यक्ष देवबहादुर बुढा मगरले जानकारी दिए ।
६ सय घरधुरी रहेको महत गाउँमा ५ वटा कार्यक्षेत्र विभाजन गरी गत शनिबारदेखि सरसफाइ गरिँदै आएको वडाध्यक्ष बुढाले बताए ।
कुहिने फोहोरलाई प्रांगारिक मलका लागि खाडलमा व्यवस्थापन गर्ने गरिएको छ भने नकुहिने फोहोरलाई जलाइने गरेको छ । गाउँलाई सफा राख्न सरसफाइ कार्यक्रमले हरेक दिन घरआँगन र साताको शनिबार टोल तथा सार्वजनिक स्थानमा सरसफाइ गर्नुपर्ने स्थानीय कमल बुढा मगरले सुनाए ।
सरसफाइले गाउँबस्तीलाई सुन्दर देखाएको छ भने कुहिने फोहोरलाई प्रांगारिक मल बनाइन थालेको बुढाको भनाइ छ ।
निर्णय उल्लंघन गरेमा जरिमाना
संयुक्त बैठकको निर्णयलाई उल्लंघन गरी जथाभावी फोहोर फाले, कुकुर छाडा छाडे र दिसापिसाब गरे सरकारको फोहरमैला व्यवस्थापन ऐन, २०६८ को सजायबमोजिम ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिमाना गरिने वडाले जनाएको छ ।