खोटाङ- नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनको चरणमा छ । तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनमा आउनुअगावै खरको छानोमुक्त अभियान सुरु भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ मंगलटारबाट हरेक घरलाई जस्ताको छानो उपलब्ध गराउने अभियान सुरु गरिएको हो ।
एकल महिला, पुरुष, दलित, विपन्न, भूकम्पमा आवास गुमाएका तर अनुदान पाउनबाट वञ्चित भएका पीडितलाई प्राथमिकता दिएर सुरक्षित घर निर्माण अभियान थालिएको वडाध्यक्ष रमेश राउतले बताए ।
हरेक घरलाई जस्ताको छानो उपलब्ध गराउने लक्ष्यका साथ वडा कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटबाट चालू आर्थिक वर्ष खरको छानो हटाउन वडाका १४ परिवारलाई जस्तापाता प्रदान गरिएको छ ।
आफैंले जस्तापाता हालिसकेका र भूकम्पीय आवास निर्माण गरिसकेका नागरिकलाई भने वडा कार्यालयले जस्तापाता उपलब्ध गराउने जनाएको छ । आगामी ४ वर्षभित्रमा खरको छानोमुक्त बनाउने लक्ष्य राखिएको वडाध्यक्ष राउतले बताए ।
विपन्नलाई जस्तापाता उपलब्ध गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगरसभाबाटै नीति तथा कार्यक्रम पारित गरेको थियो । सो नीति तथा कार्यक्रमअनुसार चालू आर्थिक वर्ष वडा नम्बर ६ मंगलटार, वडा नम्बर ४ बडहरे र वडा नम्बर ११ राजापानीले हरेक घरलाई जस्तापाताको छानो उपलब्ध गराउने कार्यक्रम कार्यान्वयनमा ल्याएको नगरप्रमुख इवन राईले बताए ।
सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुसका छाना हटाएर जस्तापाताको छाना हाल्ने तयारी भइरहेको अवस्थामा नगरपालिकाले सोही प्रकृतिको आफ्नै कार्यक्रम सुरु गरेको हो ।
सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमलाई पनि नगरपालिकाको खरको छानोमुक्त बनाउने अभियानसँगै अघि बढाइने जनाइएको छ । ‘खरको छानोमुक्त बनाउने सोच अलि अगाडिकै हो । त्यहीअनुसार नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरेका थियौँ,’ वडाध्यक्ष राउतले भने, ‘सरकारले पनि सुरक्षित नागरिक आवास कार्यक्रम ल्याएको छ । यो दुवै कार्यक्रमलाई सँगै अगाडि बढाउनेछौँ ।’
हलेसी तुवाचुङ नगरपालिकामा ११ वटा वडा छन् । सबै वडाका अधिकांश घरमा खरको छानो लगाउने गरिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत हाल वृद्ध, एकल महिला, अनाथ बालबालिका तथा अपांगता भएका घरमूली एवं प्रकोपका कारण घरविहीन भएका परिवार छनोट भइरहेको नगरप्रमुख राईले जानकारी दिए ।